जानकी मेडिकल कलेजमा किन आयो संकट ?

Share it with you friends

काठमाडौं, २८ जेठ । उत्कृष्ट मेडिकल कलेजका रूपमा छनोट गरिएको एक वर्ष नपुग्दै जानकी मेडिकल कलेजले कर्मचारीलाई तलब खुवाउन र एमबीबीएसको परीक्षा सञ्चालन गर्न नसकेपछि त्रिभुवन विश्वविद्यालयले सम्बन्धन खारेजको चेतावनी दिएको छ।

त्रिविसँग सम्बन्धन लिएर सञ्चालित निजी मेडिकल कलेजले कर्मचारीलाई १४ महिनादेखि तलब खुवाउन सकेको छैन। तलब र सञ्चय कोष रकम माग्दै कर्मचारी एक महिनादेखि आन्दोलनमा छन्। परीक्षासमेत सञ्चालन गर्न नसक्ने अवस्थामा पुगेको जानकी मेडिकल कलेजमा एमबीबीएस अन्तिम वर्षमा अध्ययनरत विद्यार्थी प्रयोगात्मक परीक्षा दिनबाट वञ्चित भएका छन्। एमबीबीएस अन्तिम वर्षमा ६५ विद्यार्थी अध्ययनरत छन्। कलेजमा विभिन्न वर्षमा करिब ३ सय ६० विद्यार्थी अध्ययनरत छन्।

त्रिवि उपकुलपति डा। तीर्थराज खनियाँका अनुसार गत वर्ष उत्कृष्ट कलेजका रूपमा लिँदै जानकीको एमबीबीएस कोटा घटाइएको थिएन। ‘कलेजको अवस्था नाजुक रहेछ। न पठनपाठन भएको छ, न परीक्षा सञ्चालन हुन सकेको छ’, उनले भने, ‘विद्यार्थीको भविष्य अलपत्र पार्ने कलेजको सम्बन्धन खारेज गर्छौं।’

डेढ महिनादेखि कर्मचारी आन्दोलित

जेठ १९ देखि असोज ३ गतेसम्म तोकिएको एमबीबीएस प्रयोगात्मक परीक्षा कर्मचारी आन्दोलनका कारण प्रभावित भएको छ। कर्मचारी र कलेज सञ्चालकबीचको टकरावका कारण आफूहरूको भविष्य बिग्रन लागेको भन्दै एमबीबीएस अन्तिम वर्षमा अध्ययनरत विद्यार्थी चिन्तित छन्। एक विद्यार्थीले भने, ‘कलेज व्यवस्थापकको लापरवाहीले भविष्य अन्धकार बनिसक्यो।’

तलब माग्दै कर्मचारीले पटकपटक आन्दोलन गर्दा ४० प्रतिशत पनि पढाइ भएको छैन। कलेज सञ्चालकको लापरवाहीले विद्यार्थीहरू परीक्षा दिन नपाएको कर्मचारी हकहित संघर्ष समितिका संयोजक उमेश यादवले बताए। ‘विद्यार्थीको भविष्य बनाउने कर्मचारीको कर्तव्य हो। परीक्षाका लागि अस्पताल सञ्चालन गर्न तयार छौं’, उनले भने, ‘तर कलेज सञ्चालक सम्पर्कमा आउनुप¥यो।’ अन्नपूर्ण पोस्टमा खबर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *