‘फस्ट रनअर अप’ बनेका दिवेशको अमेरिकन आइडल यात्रा

Share it with you friends

काठमाडौँ, ५ जेठ । दिवेश पोखरेल अमेरिकन आइडलको फस्ट रनर अप बनेका छन् । अमेरिकाको कन्सास राज्यको विचिटा शहरमा बस्दै आएका २२ वर्षीय पोखरेल अमेरिकन आइडलको १८ औँ संस्करणको फस्ट रनर अप बनेका हुन् । छनोट चरण हुँदै अन्तिम २०, १०, ७ र फाइनल चरणका लागि अन्तिम पाँचभित्र समेटिँदै पोखरेल फाइनलमा पुगेका थिए ।

अमेरिकन आइडलमा आर्थर गनको नामबाट सहभागी पोखरेलले आइडलको छनोट चरणदेखि नै निर्णायकको मत जित्दै आएका थिए । मतमार्फत अघि बढ्ने चरणमा समेत उनले उत्साहप्रद मत प्राप्त गरेका थिए । उनको आइडलको सहभागितासँगै अमेरिकामा रहेको नेपाली समुदायमा आइडलप्रतिको चासो ह्वात्तै बढेको थियो । विश्वभर छरिएको नेपाली समुदायबाट उनलाई मत प्राप्त भएको थियो । त्यसका निम्ति पोखरेलले सबैमा आभारसमेत व्यक्त गरेका छन् ।

गत सेप्टेम्बरमा दिवेश आइडलका लागि छनोट भएका थिए । फ्रेन्च कवि आर्थर रिमबाउडबाट प्रभावित भएर आफ्नो स्टेज वा साङ्गीतिक नाम आर्थर गन राखेको बताउने दिवेश छ वर्षअघि अमेरिका आएका थिए । काठमाडौँमा जन्मिएका दिवेशले अमेरिका आउनुअघि पनि नेपाली सङ्गीतिक कोसेली एलबम ‘ग्रहण’ सार्वजनिक गरेका थिए ।

दिवेश फस्ट रनर अप भएको एबिसी टेलिभिजनले सञ्चालन गर्ने आइडलको उपाधि भने २१ वर्षीया जष्ट सामले जितिन् । उपाधि विजेता जष्ट लाइबेरियाली मूलकी हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *