शारजाहमा राजस्थानको जोर चलेन, दिल्लीसँग ४६ रनले पराजित
काठमाडौं, २४ असोज । यूएईमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटअन्तर्गत गएराति सम्पन्न खेलमा दिल्ली क्यापिटल्सले जीत हात पारेको छ । प्रतियोगितामा पाँचौं जीत निकाल्ने गर्ने क्रममा उसले राजस्थान रोयल्सलाई ४६ रनले पराजित गर्यो ।
शारजाहमा दिल्लीले दिएको १८५ रनको लक्ष्य पछ्याएको राजस्थानले १९ दशमलव ४ ओभरमा १३८ रनमै समेटिएको थियो । राजस्थानका लागि राहुल तेवातियाले सर्वाधिक ३८ रन बनाए । त्यसैगरी ओपनर यशश्वी जैसवालले ३४ तथा कप्तान स्टिभ स्मिथले २४ रन बनाए । राजस्थानलाई लक्ष्यअगावै समेट्न दिल्लीका कगिसो रबाडाले ३ विकेट लिए भने रविचन्द्रन आश्विन र मार्कस स्टोइनिसले २ २ तथा एनरिच नोर्त्जे अक्षर पटेल र हर्शल पटेलले १ १ विकेट लिए ।
यसअघि शारजाहमा टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १८४ रन बनाएको थियो । दिल्लीका शिम्रोन हेटमायरले सर्वाधिक ४५ रन बनाए भने मार्कस स्टोइनिसले ३९ रनको योगदान दिए । राजस्थानका जोफ्रा आर्चरले ३ विकेट लिए भने कार्तिक त्यागी, एन्ड्रयु टाइ र राहुल तेवातियाले १-१ विकेट लिए । दिल्लीका २ ब्याट्सम्यान रनआउट भएका थिए ।
जीतसँगै ६ खेलबाट १० अंक बटुलेको दिल्ली अंकतालिकाको शीर्ष स्थानमा उक्लन सफल भएको छ । समान खेलबाट ४ अंक जोडेको राजस्थान सातौं स्थानमा रहेको छ ।