जसपाबाट ८ मन्त्री र २ राज्यमन्त्री बन्ने तय, शपथको तयारी
जनता समाजवादी पार्टी(जसपा) महन्थ ठाकुर र राजेन्द्र महतोपक्षले सरकारमा जान ८ मन्त्री र २ राज्यमन्त्रीको माग गरेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले जसपाका अधिकांश माग सम्बोधन गरिसकेको भन्दै उनीहरुले सरकारमा जाने तयारी उनीहरुले गरेका हुन्।
‘हामीले ८ मन्त्रीसहित २ राज्य मन्त्रीको माग गरेका छौ। त्यसमा प्रधानमन्त्री सहमति जनाइसक्नु भएको छैन। छलफल जारी भएकाले मन्त्रालय र मन्त्रीको दुबै पक्षबाट टुंगो लगाए तत्काल शपथ हुन्छ’ महन्थ–राजेन्द्रपक्षका एक सांसदले भने,‘मन्त्री र मन्त्रालको टुंगो लगाए बिहीबार वा शुक्रबारसम्म शपथ हुन सक्छ।’ तर,राजनीतिक घटनाक्रम छिटोछिटो विकसित भएकाले सोमबार बेलुकासमेत शपथ हुन सक्ने अर्का एक सांसदले बताए।
अध्यक्ष महन्थ ठाकुरले सरकारमा जान इच्छा नदेखाएकाले वरिष्ठ नेता राजेन्द्र महतोको नेतृत्वमा ओली सरकारमा जाने तयारी गरिएको उनले बताए। महतोसहित मन्त्रीको आकांक्षीमा लक्ष्मणलाल कर्ण, अनिल झा, राजकिशोर यादव, शरतसिंह भण्डारी, चन्दा चौधरी, उमाशंकर अग्ररिया, इबाल मिँया, विमल श्रीवास्तव रहेका छन्।
तर अध्यक्ष उपेन्द्र यादव पक्षले पार्टीका कुनै सदस्य प्रधानमन्त्री ओली नेतृत्वको सरकारमा सहभागी भए निष्काशन गर्ने निर्णय गरेको छ। शनिबार बसेको जसपाको केन्द्रीय कार्यकारिणी समिति बैठकले यस्तो निर्णय गरेको हो।