धादिङ आइपुग्यो एकिकरण पदयात्राको टोली
धादिङ । राष्ट्रनिर्माता पृथ्वीनारायण शाहले गोरखा राज्य विस्तारका क्रममा प्रयोग गरेको पदमार्गलाई पहिचान गर्नेगरी नेपाली सेनाले शुरु गरेको एकीकरण पदयात्रा धादिङमा आइपुगको छ । नेपाली सेनाले पृथ्वीजयन्तीको अवसरपारेर ऐतिहासिक नेपाल एकीकरणका क्रममा प्रयोग भएको पदमार्गको संरक्षणका लागि विहिवारबाट पदयात्रा सुरु गरेको हो । बिहीवारदेखि गोरखाबाट सुरु भएको पदयात्रा बिहीवार साँझ नै गोरखा र धादिङको सीमा क्षेत्र बोर्लाङघाट पुग्यो । पहिलो दिनमा गोरखाखण्डको नेतृत्व रिपुमर्दन गणले गरेको थियो । ३० जनाको सहभागीता रहेको पदयात्राको टोलीले टर्च, राष्ट्रिय झण्डा, पृथ्वीनारायण शाहकै पालामा स्थापना भएका नेपाली सेनाका पाँच कम्पनीका झण्डासहित पदयात्रा सुरु गरेको थियो । रिपुमर्दन गणले धादिङको शिवदल गणलाई झन्डा र टर्च हस्तान्तरण गरेपछि धादिङखण्डको पदयात्रा श्री शिवदल गणका गणपति प्रमुख सेनानि अशोक राज बराल, उपसेनानी बिशाल काजि बस्नेतले गरि जम्मा ४४ जनाले गर्नु भयो ।
तत्कालीन समयमा काठमाडौको हनुमान ढोका र गोरखा सम्मको दूरी २६ कोष टाढा रहेको र २६ वटै कोषहरुका कोषे ढुंगा गाढिएको मा ७ वटा कोषे ढुंगा धादिङ जिल्लामा रहेका छन् । सल्यान्टार रानीपौवा, हांसेपसल, खहरेबजार, लाकुरी, कटुञ्जे, भोक्टिनी र थर्पु मा कोषे ढुंगा छन् । धादिङ खण्डमा शुक्रवार र शनिवार दुई दिन हुने पदयात्रा यीनै कोषे ढुंगा भएर पदयात्रा गरिने छ । धादिङ खण्ड अन्तर्गत पदयात्राको टोली शुक्रवार साँझ तामैमा पुगेर बस्ने छ । शनिवार बेलुका जर्वजंङ गणलाई टर्च हस्तान्तरण गर्ने छ । धादिङ खण्डमा कुल ४२ किलोमिटरको दुरी रहेको छ । यो चौथो पटक एकीकरण पदयात्रा गरेको नेपाली सेनाले जनाएको छ । पौष २१ गतेबाट सुरु भएको पदयात्रा पौष २७ गते पृथ्वीजयन्तीका दिन सकिने छ । कार्यक्रममा अतिथिको रुपमा त्रिपुरासुन्दरी गाऊँपालिकाका अध्यक्ष राजु उप्रेति, धादिङ जिल्लाका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद लम्साल र श्री ६ नम्बर बाहिनि अड्डाका बाहिनिपति सहायक रथि श्री रामचन्द्र कार्कि रहनु भएको थियो ।