सभामुखमा एमालेका सांसद घिमिरे निर्वाचित
काठमाडौं । प्रतिनिधि सभाको सभामुखमा नेकपा (एमाले) का सांसद देवराज घिमिरे निर्वाचित हुनुभएको छ । झापाको अर्जुनधारा नगरपालिका –६ घर हुनुभएका घिमिरे झापा क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको हो । उहाँले १६७ मत प्राप्त गर्नुभएको छ ।
उहाँले प्राप्त गर्नुभएको मत सभाको बहुमत भएकाले प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपति शम्शेर जबराले घिमिरे प्रतिनिधि सभाको सभामुख निर्वाचित हुनुभएको घोषणा गर्नुभएको हो । उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसकी ईश्वरीदेवी न्यौपानेले १०० मत पाउनुभएको छ । उहाँ नेपाली कांग्रेसकी प्रतिनिधि सभा समानुपातिक सदस्य हुनुहुन्छ । मत दिन्न भन्ने पक्षमा एक मत मात्र परेको छ ।
वि.सं. २०३१ सालमा झापा विद्रोहपछि नेपाल कम्युनिस्ट पार्टीको सम्पर्कमा रहनुभएका घिमिरे २०३२ माघदेखि अखिल नेपाल कम्युनिष्ट क्रान्तिकारी को–अर्डिनेशन कमिटी (कोके) गठनपछि विद्यार्थी सङ्गठनमार्फत पार्टी काममा होमिनुभएको हो । २०३३ सालमा आफ्नो शिक्षालाई थाती राखेर गाउँ–गाउँ पुगेर पार्टीको सङ्गठन निर्माणमा खटिनुभएका घिमिरेले भूमिगत भएर काम गरेको तीन वर्षपछि २०३५ साल भदौमा नेपाल कम्युनिष्ट पार्टीको सदस्यता प्राप्त गर्नुभयो ।
२०३५ सालमा नेपाल कम्युनिष्ट पार्टीको सदस्यता प्राप्त गर्नुभएका घिमिरेले आफ्नो ४५ वर्षे लामो औपचारिक राजनीतिक जीवनमा विभिन्न जिम्मेवारी पाउनुभएको छ । उहाँको कम्युनिस्ट राजनीतिमा पूर्वी क्षेत्रमा विशेष योगदान रहेको छ। २०३५ साल पुस ११ गते कम्युनिष्ट घटक मिलेर नेकपा माले बनेपछि तेह्रथुम र पाँचथर जिल्लाको संगठक बन्नुभयो। २०३९ सालमा इलाम जिल्लाको पार्टी प्रमुखको जिम्मेवारी पाउनुभएका उहाँले २०४९ सालमा नेकपा माले र नेकपा एकीकृतको एकीकरणपछि सम्पन्न नेकपा (एमाले) को पाचौं राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय सदस्य बन्नुभएको हो ।
२०५० सालमा नेकपा एमालेको मेची अञ्चल इन्चार्ज बन्नुभएका उहाँ २०५८ सालमा केन्द्रीय विभाग अन्तरगत स्वास्थ्य विभागको इन्चार्ज बन्नुभयो। त्यसपछि इन्जिनियरिङ विभाग, युवा संघ नेपाल, नेपाल राष्ट्रिय शिक्षक संगठन, प्रगतिशील प्राध्यापक संघको इन्चार्जको जिम्मेवारी पूरा गर्नुभएको अनुभव उहाँसँग रहेको छ । २०७५ सालमा नेकपाको प्रदेश १ अध्यक्षको जिम्मेवारी सम्हाल्नुभएका उहाँ एमालेको दशौं महाधिवेशनबाट पार्टीको स्थायी कमिटी सदस्य तथा प्रदेश नम्बर १ इन्चार्ज बन्नुभयो । पञ्चायत अवधिमा उहाँ राजनीतिक गतिविधिकै कारण पटक पटक पक्राउ पर्नुभएको थियो । २०५६ सालमा राष्ट्रिय सभा सदस्य बन्नुभएका घिमिरे पहिलो पटक प्रतिनिधि सभामा निर्वाचित हुनुभएको हो ।