एकाध व्यक्तिका अनसनलाई राजनीतिक वैतरणी तर्ने माध्यम बनाउन खोजियो : प्रचण्ड
काठमाडौं, ७ साउन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले डा. गोविन्द केसीको अनशन राजनीतिक अराजकता र अस्थिरता मच्चाउने षड्यन्त्रका रुपमा चित्रित गरेका छन् ।
एकीकृत अखिल नेपाल शिक्षक संगठनको कार्यक्रमलाई आइतबार बिहान सम्बोधन गर्दै प्रचण्डले यस्तो अभिव्यक्ति दिएका हुन् । ‘शिक्षा क्षेत्रलाई राजनीतिक अराजकता फैलाउने माध्यमको रुपमा या एकाध व्यक्तिका अनसनलाई राजनीतिक वैतरणी तर्ने माध्यमका रुपमा लिने र त्यसलाई बढो विचित्रसँग राजनीतिक भूमरी तयार पार्ने कसरत भइरहेको छ,’ उनले भने, ‘त्यसमा हामी सबैले सामूहिकरुपमा चिर्न आवश्यक छ ।’
प्रचण्डले नेकपाका भातृ संगठनहरुले अगाडि सारेको शिक्षा र स्वास्थ्य क्षेत्रको राष्ट्रियकरणको मागलाई पनि अस्वीकार गरेका छन् । शनिबार वाइसिएल, अनेरास्ववियू, अनेरास्ववियू क्रान्तिकारी र युवा संघले यस्तो माग अगाडि सारेको थियो । ‘अहिले देशमा विचित्रको चर्चा चल्ने गरेको छ । यहाँ बहस सबै कुराको राष्ट्रियकरण गर्दा सबै कुराको रामवाण त्यही हुन्छ भनेजस्तो गरी चर्चा चलेको छ,’ उनले अगाडि भने, ‘तर, त्यो सत्य होइन ।’
उनले नेपालको संविधानले निजी क्षेत्र, सार्वजनिक क्षेत्र र सहकारी क्षेत्रको सहकार्यबाट देशको समृद्धि र सामाजिक रुपान्तरणलाई अगाडि लैजाने परिकल्पना गरेको भन्दै वर्तमान सरकार सम्पूर्णरुपले निजी क्षेत्रलाई उन्मुलन गर्न सक्ने अवस्थामा नरहेको स्पष्ट पारे । ‘हाम्रो उद्देश्य भनेको सार्वजनिक क्षेत्रको भूमिका र महत्वलाई बढाउँदै लैजाने हो,’ उनले भने, ‘निजी क्षेत्रका गतिविधिलाई बिस्तारै नियमन र व्यवस्थापन गर्दै लैजाने हो, यो बाटोबाट समाजवादतर्फको बाटो तय गर्ने वा समाजवादको आधार निर्माण गर्दै जाने हाम्रो उद्देश्य हो ।’
उनले नेकपा अहिले अन्तर्राष्ट्रिय श्रमिक वर्गलाई पनि योगदान दिने ठाउँमा रहेको भन्दै चुनावमा भनेको कुरा अहिले लागू गर्न नसकिने स्पष्ट पारे । ‘हामीले भनेका थियौं कि शिक्षामा आमूल रुपान्तरण गरिनेछ, कुल बजेटको २० प्रतिशत शिक्षामा लगानी गरिनेछ, शिक्षालाई सामान्य शिक्षा होइन बरु प्राविधिक र व्यवसायिक शिक्षामा प्राथिमकता दिइनेछ,’ उनले भने, ‘हामीले तोकेर नै ७० प्रतिशत प्राविधिक र व्यावसायिक शिक्षा भन्यौं, तर, तत्काल यो कुरा पूरा गर्न सम्भव छैन । हाम्रा कदम यस दिशातिर बढ्न आवश्यक छ ।’
अध्यक्ष प्रचण्डले डाक्टरको सिफारिसको आधारमा डा केसीको जीवनरक्षाको लागि सम्मानपूर्ण ढंगले ल्याउने क्रममा अवरोध खडा गरिएको गुनासो गरे । ‘वार्ताबाटै समस्याको समाधान गर्न वार्ता टोली बनायौं, सरकारले त्यही अनुसार गर्यो,’ उनले भने, ‘तर यहाँ उहाँको जीवनरक्षा गर्न पनि नदिने, उहाँसँग वार्ता गरेर समस्या समाधान गर्न पनि नदिने, सरकारी डाक्टरहरुलाई उहाँको स्वास्थ्य परीक्षण गर्न पनि नदिने काम भइरहेको छ ।’
उनले वार्तामा लेनदेन हुनुपर्नेमा केसी पक्ष लेनदेन गर्न तयार नभएर ‘एउटै कुरा अध्यादेश जस्ताको तस्तै ल्याए मात्रै मान्छौं’ भनिरहेको आरोप लगाए ।
उनले अहिले आन्दोलनमा उत्रनेहरुले नेपालमा अस्थिरता मच्चाउन चाहेको आरोप लगाए । ‘अहिले जसले आन्दोलन गर्नेहरु समस्या समाधान गर्ने भन्दा के गरी समस्यालाई विकराल बनाउन सकिन्छ र अराजकता मच्चाउन सकिन्छ भन्नेतिर लक्षित देखिन्छ,’ उनले अगाडि थपे, ‘हामी लोकतन्त्रमा छौं । यदि एकाध मानिसले जे भन्यो त्यही गर्ने हो भने किन गर्नुपर्यो निर्वाचनको नाटक ?’
उनले अगाडि थपे, ‘ अनशनबाटै माग पूरा हुने भए किन चाहियो संविधान ? किन चाहियो प्रतिनिधिसभा ? किन चाहियो प्रदेशसभा ? किन चाहियो स्थानीय तह ?’ उनले अहिले आन्दोलन गर्नेहरुले जस्तै जननिर्वाचित संस्थाहरुको औचित्य र महत्वमाथि प्रश्न उठाउने गरी नभई बरु त्यहीभित्रबाट समस्याको समाधान गर्दै लोकतन्त्रको सम्मान गर्नुपर्नेमा जोड दिए ।
‘एकथरी मानिसहरु कहीँ न कहीँ नेपालमा स्थिरता नहोस्, नेपालमा समृद्धि नहोस्, शिक्षा लगायत सबै क्षेत्रमा विकास र सुधार नहोस् भन्ने चाहना राखिरहेका छन्,’ उनले भने, ‘धमिलो पानीमा माछा मार्ने पुरानै प्रवृत्ति, पुरानै तरिका हो यो, त्यसैमा बानी परेका र त्यही अराजकता र अस्थिरताभित्रपट्टीबाट फाइदा लिन पल्केको एउटा सानो वर्ग, अहिले पनि त्यसलाई निहुँ बनाउन खोजेको छ,’ उनले शिक्षक नेताहरुलाई आह्वान गर्दै भने, ‘हामी सबै मिलेर यो प्रवृत्तिलाई परास्त गर्नु जरुरी छ ।’
