एसइई परीक्षा पहिलो दिन देशभर शान्तिपूर्ण

Share it with you friends

भक्तपुर । माध्यमिक शिक्षा परीक्षा (एसइई) बिहीबार शान्तिपूर्णरुपमा देशभरका एक हजार ९५६ परीक्षा केन्द्रमा एकैसाथ सन्चालन भएको छ ।

बिहीबार बिहान ८ बजेबाट ११ बजेसम्म भएको उक्त परीक्षा देशभर शान्तिपूर्णरुपमा सन्चालन भएको परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले जानकारी दिए ।

पहिलो दिन बिहीबार अंग्रेजी विषयको परीक्षा सन्चालन भएको छ ।

यस वर्ष परीक्षामा अनिवार्य विषयतर्फ गणितबाहेक सबैमा प्रयोगात्मक परीक्षाको व्यवस्था गरिएको छ । एसइई परीक्षामा चार लाख ८५ हजार ५८६ परीक्षार्थी सहभागी भएका छन् ।

परीक्षामा प्रत्येक केन्द्रमा एकजना केन्द्राध्यक्ष, दुई हजार ४५० सहायक केन्द्राध्यक्ष, २० हजार ३४० निरीक्षक, १० हजार ६७६ सहयोगी र २९ हजार ३४० सुरक्षाकर्मी गरी जम्मा ६४ हजार ७६२ जनशक्ति परिचालित भएको रेग्मीले बताए ।

साधारणतर्फको परीक्षा १७ गते तथा प्राविधिकतर्फको परीक्षा २० गतेसम्म सन्चालन हुनेछ ।

यस वर्ष माध्यमिक शिक्षा पाठ्यक्रम २०७१ अनुसार नयाँ पाठ्यक्रमका आधारमा प्रश्नपत्र तयार पारिएको बताइएको छ ।

अनुत्तीर्ण परीक्षार्थी र अक्षरांकन पद्दतिको नतिजामा विभिन्न विषयमा ‘सी’ ग्रेड वा सोभन्दा तल्लो ग्रेड प्राप्त भइ ग्रेडवृद्धि परीक्षामा ग्रेडवृद्धि गर्न नसकेका परीक्षार्थीका लागिसमेत एक्जामटेड परीक्षार्थीकारुपमा परीक्षा दिने व्यवस्था गरिएको परीक्षा नियन्त्रक रेग्मीले जानकारी दिए ।

सबै प्रदेश समेटिने गरी राष्ट्रिय परीक्षा बोर्डका पदाधिकारी तथा शिक्षा मन्त्रालयमार्फत् सहसचिवको नेतृत्वमा अनुगमन टोली, क्षेत्रीय शिक्षा निर्देशनालयमा आफ्नो क्षेत्रभित्र अनुगमन टोली र जिल्लामा परीक्षा समन्वय समितिका पदाधिकारी एवं जिल्ला शिक्षा कार्यालयका कर्मचारीलाई अनुगमनमा खटाइएको छ ।

अनुगमन टोलीले परीक्षामा अमर्यादित कार्य गर्ने वा गर्न उक्साउने जो–कोहीलाई स्थलगतरूपमै कारबाही गर्नसक्ने अधिकार दिइएको छ ।

परीक्षालाई बाधा पुग्ने गरी अमर्यादित कार्य गर्नेलाई रु एक लाखसम्म जरिवाना वा ६ महिना कैद वा दुवै सजाय हुने व्यवस्था गरिएको छ ।

‘आगामी वर्षदेखि एसइई परीक्षा प्रदेशस्तरमा सन्चालन गर्ने तयारी सुरु गरिएको छ’–रेग्मीले भने । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *