एसएसपी श्यामबहादुर खत्री जेल चलान
काठमाडौं, १८ जेठ । सङ्गठित अपराध र सुन तस्करी मुद्धामा वरिष्ठ प्रहरी उपरिक्षक (एसएसपी) श्यामबहादुर खत्रीलाई पुर्पक्षका लागि थुनामा राख्न मोरङ जिल्ला अदालतले आदेश दिएको छ ।
आफूविरुद्ध अनुसन्धान थालिएपछि फरार रहेका भनिएका खत्री बिहीवार आफैँ अदालतमा उपस्थित भएका थिए । बयानपछि थुनछेकको बहस भएको थियो ।
बहसपछि तत्काल प्राप्त प्रमाणका आधारमा सङ्गठित अपराधमा एसएसपी खत्रीको संलग्नता देखिएको भन्दै उनलाई थुनामा राखेर मुद्दाको अनुसन्धान गर्न आदेश भएको अदालतका निमित्त स्रेस्तेदार केदारप्रसाद गौतमले बताउनुभयो ।
साढे ३३ किलो सुन तस्करी र त्यससँग जोडिएको सनम शाक्यको हत्या प्रकरणमा मुख्य अभियुक्त भनिएका चूडामणि उप्रेती गोरेले एसएसपी खत्रीकै सहयोगमा सुनको तस्करी हुने गरेको बयान दिएका थिए ।
