जितपछी सन्दीपले यसरी मनाए खुसी ( फाेटाेफिचर )
नयाँ दिल्ली, ७ जेठ । आइपिएल-११ को ५५औं खेलमा दिल्ली डेयरडेभिल्सले मुम्बई इण्डियन्सलाई ११ रनले पराजित गरेको छ ।
दिल्लीको जितका लागि नेपालका सन्दीप लामिछानेले ३ विकेट लिए । दिल्लीको फिरोजशाह कोटला मैदानमा आइतबार भएको खेलमा पराजयसँगै यसअघि तीनपटक आइपिएलको उपाधि उचालेको मुम्बई प्ले अफ जानबाट रोकिएको छ ।

प्लेअफको दौडबाट पहिला नै बाहिरिएको दिल्लीको लागि यो सान्त्वना जीत हो । यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको दिल्लीले निर्धारित २० ओभरमा १७४ रन बनायो । जवाफमा मुम्बई इण्डियन्सले १६३ रनमा अलआउट भयो । दिल्लीको लागि अमित मिश्रा, हर्षल पटेल र सन्दीप लामिछानेले ३-३ विकेट लिए । दिल्ली डेयर डेभिल्सबाट ४ ओभर बलिङ गरेका सन्दीपले ३६ रन खर्चिएर ३ विकेट लिए ।

मुम्बईको अन्तिम ओभरमा जितको लागि १८ रन जरुरी थियो । हर्षल पटेलको पहिलो बलमा कटिंगले छक्का प्रहार गरे तर अर्को बलमा उनी क्याच आउट भएसँगै मुम्बईको आशा साँघुरो भयो । अर्को बलमा बुमराहलाई आउट गरेपछि १६३ रनमा समेटिएको मुम्बईको यो सिजनको आइपिएल यात्रा यही रोकियो ।




