दृष्टि आँखा केन्द्रद्वारा एक वर्षमा २१ हजारभन्दा बढीलाई सेवा प्रदान
काठमाडौं, १६ वैशाख । ‘सबैको लागि दृष्टि, सधैको लागि दृष्टि’ भन्ने लक्ष्य लिएर सुरु भएको दृष्टि आई केयर सिस्टम अन्तर्गतको दृष्टि आँखा केन्द्र कलंकीले सेवा सञ्चालनको एक वर्ष पूरा गरेको छ ।
एक वर्षमा अस्पतालले १८ हजार ५ सयजनालाई अस्पतालमा र ३ हजार एक सय जनालाई निशुल्क आँखा शिविरमार्फत सेवा प्रदान गरिसकेको अस्पतालका प्रमुख कार्यकारी निर्देशक डा. भाइराजा श्रेष्ठले जानकारी दिएका छन् । ‘आँखा उपचारमा नागरिकको सहज पहुँचका लागि अस्पताले नेपालमै पहिलो पटक सार्वजनीक निजि साझेदारी अन्तरगत टोखा नगरपालिका र दृष्टि आँखा केन्द्रको साझेदारीमा टोखा नगरपालिका वडा नं ३ को कार्यालयसँगै दृष्टि आँखा केन्द्र टोखा शाखाको शुभारम्भ गरेको छ,’ श्रेष्ठले भने, ‘यसले टोखा नगरपालिका र आसपास क्षेत्रका समुदायलाई सहज सेवा प्रदान गर्दै आएको छ ।’
अस्पतालले ‘आँखा जँचाऔं, स्कुल जाऔं’ अभियानलाई सफल बनाउन एन–प्याब्सन अन्तरगतका सम्पूर्ण विद्यालयका विद्यार्थीको आँखा परीक्षण कार्य आरम्भ गरि सकिएको पनि श्रेष्ठले जानकारी दिए । ‘विभिन्न खेलमा आबद्घ भएर राष्ट्रिय स्तरमा पुगेका खेलाडीहरुको आँखा परीक्षण गरिनुका साथै राष्ट्रिय खेलकूद परिषद अन्तरगतका सम्पूर्ण खेलाडी र पदाधिकारीलाई समेत सेवा प्रदान गर्ने गरी परिषदसँग सम्झौताको चरणमा पुगेको छ,’ प्रमुख कार्यकारी निर्देशक श्रेष्ठले बताए ।
अस्पतालले दुर्घटना लगायत विभिन्न कारणले आँखा गुमाउन पुगेकाहरुलाई लक्षित गरेर पूर्ण कृत्रिम आँखा सेवा पनि सुरुवात गरेको छ । यसबाट आँखा गुमाउने व्यक्तिको सुन्दरताका साथै व्यक्तित्व जोगाउनमा समेत मद्दत पुगेको अस्पतालले विश्वास लिएको छ ।
श्रेष्ठले सनराइज बैकसँग ‘हामी सँगसँगै’ भन्ने नाराका साथ स्वास्थ्य बिमा योजना अन्तर्गत सहकार्य गर्ने सम्झौता भएको जानकारी दिए । उनले भने, ‘यो सहकार्यले सनराइज बैकमा खाता रहेका वा शेयरधनीले दृष्टि आँखा केन्द्रको कुनै पनि शाखामा ओपिडी सेवालगायतका सेवामा विशेष छुट पाउनुका साथै स्वास्थ्य बिमाबाट लाभान्वित हुने छन् ।’
अस्पतालले यसअघिका अभियानलाई निरन्तरता दिँदै यस बर्षदेखि प्रत्येक महिना आँखासँग सम्बन्धित विभिन्न रोगका बारेमा जनचेतना फैलाउने अभियानहरु सञ्चालन गर्ने जनाएको छ ।
