धादिङ–१ (२) का एमाले उम्मेदवार थपलिया घरदैलोमा
धादिङ प्रतिनिधिसभा क्षेत्र नम्बर १ को प्रदेशसभा २ का नेकपा एमालेका उम्मेदवार गजेन्द्र थपलिया पहिलो पटक चुनावी घरदैलोमा निस्किएका छन् । बुबाको मृत्युपछि १३ दिनको काम सकेर मंगलबारबाट औपचारिक घरदैलोमा निस्किएका हुन् ।
धादिङ र चितवनको सिमाना मौवाखोलाबाट घरदैला कार्यक्रम सुरु गरेका थपलियाले साँझसम्म गजुरीबजार आसपासका मतदातासँग भेटघाट गरेका छन् । आफु समयमै घरदैलोमा आउन नपाएको बाध्यता सुनाउँदै थपलियाले मौवाखोला, चरौदी, रिचोकटार, मलेखुमा कोणसभा गरेका छन् ।
पृथ्वी राजमार्ग आसपासका मतदातासँगको भेटघाट र कोणसभालाई सम्बोधन गर्दै उम्मेदवार थपलियाले राजमार्ग आसपासमा आइपर्ने विपद व्यवस्थापन आफ्नो पहिलो प्राथमिकता रहेको बताए । राजमार्ग क्षेत्रमा आइपर्ने विपदको स्थायी समाधानका लागि पहल गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । पहिलो पटक निर्वाचनमा होमिएका थपलिया केपी शर्मा ओलीका विकास विज्ञ सल्लाहकार थिए ।
खेम लोहनी दिनभर आफ्नै जन्मथलोतिर व्यस्त
धादिङ प्रतिनिधिसभा क्षेत्र नम्वर २ का उम्मेदवार खेमप्रसाद लोहनीले मंगलबार आफ्नै वडा र पालिकाका मतदातासँग भेटघाट गरेका छन् ।
ज्वालामुखी गाउँपालिका वडा नं ६ चैनपुर पुगेका लोहनीले राष्ट्रका मागहरू सम्बोधन गर्न, देशको स्वतन्त्रता र स्वाधीनता रक्षा गर्न, देशलाई विकासको मार्गमा अघि बढाउन एमालेको सरकार आवश्यक रहेको बताए । ‘शिक्षा, स्वास्थ्य लगायत जनतालाई सुखी र समृद्ध बनाउन एमाले नै अहिलेको आवश्यकता हो, एमालेको विचार, नीति र सिद्धान्तबाटै मुलुकको समृद्धि सम्भव छ भन्ने कुरा जनताले बुझेको छ’, उनले भने ।
कार्यक्रममा क्षेत्र नं २ को प्रदेशसभा २ का उमेदवार डा.रामकुमार अधिकारी, एमाले धादिङको जिल्ला तहका नेताहरुसहभागी थिए ।
