धार्केमा रहेको उत्प्रेरणा महिला सहकारी संस्थाद्धारा कृषक समूहलाई ट्याक्टर वितरण
४ पौष २०७६, शुक्रबार
भगवान भण्डारी, धार्के— धादिङको धुनिवेशी नगरपालिका वडा नं. ६ मा रहेको उत्प्रेरणा महिला सहकारी संस्था लि. ले शुक्रबार वडा नं. ६ का कृषि पेशामा आवद्ध आफ्ना शेयर सदस्य कृषक समूहलाई हाते ट्याक्टर वितरण गरेको छ । जिल्ला सहकारी संघको अनुदानमा उत्प्रेरणा महिला सहकारी संस्था लि. ले एक थान ट्याक्टर र ५ थान पम्प वितरण गरेको हो ।

सहकारीका अध्यक्ष शारदा पाण्डेले मिहिनेतका साथ कृषि पेशामा लागेका यस समूहलाई हाते ट्याक्टरको प्रयोगले अझै कृषकहरुलाई सहज बनाउने बताउनुभयो । पछिल्लो समयमा गोरु पाल्न छाडिएको र ट्याक्टरको प्रयोग महिलाहरुले पनि सहजै गर्न सकिने बताउनुभयो । पछिल्ला दिनहरुमा सहकारीले अझै आधुनिक कृषि उपकरणहरु कृषकहरुलाई उपलब्ध गराई उत्पादनमा वृध्द्धि गर्ने लक्ष्य रहेको बताउनुभयो ।

त्यसैगरी सहकारीका व्यवस्थापक शान्ता अधिकारीले वडा नं. ६ का सवै परिवारहरु यस सहकारीको शेयर सदस्य बन्न आग्रह गर्नुभएको छ । कृषि पेशामा अझै सकृयताका साथ लागीपर्ने कृषकको संख्या कम भएकोमा समेत उहाँले जोड दिनुभयो । यदि कोही कृषकहरु व्यााशायिक रुपमै केहि गर्छु भन्ने उद्धेश्यका साथ लागी परेमा उत्प्रेरणा महिला सहकारी संस्थाले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

वि सं. २०७१ साल असार ३१ गते स्थापना भएको यस उत्प्रेरणा महिला सहकारी संस्था लि. मा ५०० जना शेयर सदस्य रहेका छन् भने वार्षिक ७५ लाख बराबरको कारोवार गर्दै आएको छ । हाल सहकारीमा ३ जना कर्मचारीहरु कार्यरत छन् ।
