नौविसे स्वास्थ्य चौकीमा महिलाहरुको पाठेघरको जाँच, १४५ महिलाहरुले लिए सेवा
भगवान भण्डारी, नौविसे— धादिङको धुनिवेशी ७ नौविसेमा रहेको नौविसे स्वास्थ्य चौकीमा महिलाहरुको पाठेघर तथा आंग खस्ने समस्या र पाठेघरको मुखको क्यान्सर सम्बन्धि जाँच (Via Test) गरिएको छ । स्वास्थ्य कार्यालय धादिङको आयोजनामा बिहिबार सम्पन्न उक्त कार्यक्रममा १४५ जना महिलाहरुले स्वास्थ्य सेवा लिएका छन् । सेवा लिने मध्ये १ जनालाई थप परीक्षणका लागी भक्तपुर क्यान्सर अस्पतालमा रिफर गरिएको छ ।

धादिङ स्वास्थ्य कार्यालयका प्रमुख भुवन पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा धुनिवेशी नगरपालिकाका प्रमुख बालकृष्ण आर्चायको प्रमुख आतिथ्यता रहेको थियो भने उपप्रमुख निरु खरेलको विशेष आतिथ्यता रहेको थियो ।
एकभन्दा बढी यौन पार्टनर राख्ने, छिटो विवाह गर्ने तथा कम उमेरमै सन्तान जन्माउने, धेरै सन्तान जन्माउने महिलालाई पाठेघरको मुखको क्यान्सर हुने सम्भावना बढि हुने र एच.भी.पी संक्रमण तथा सरसफाइमा ध्यान नदिँदा पनि यो रोग लाग्न सक्ने धादिङ स्वास्थ्य कार्यालयका प्रमुख भुवन पौडेलले बताउनुभयो ।
आफ्नो स्वास्थ्यका बारेमा महिलाहरु पहिलेभन्दा धेरै सजग रहेको र जाँचको लागि राम्रो संख्यामा उपस्थित् भएको नौबिसे स्वास्थ्य चौकीका प्रमुख गीता भट्टले बताउनुभयो । शहर बजारको तुलनामा ग्रामिण भेगमा भने केहि महिलाहरु अझै लजाउने र ढाकछोप गर्ने प्रवृत्ति रहेको कुरामा समेत उहाँले जोड दिनुभयो ।

कार्यक्रममा धादिङ स्वास्थ्य कार्यालयका प्रमुख भुवन पौडेल, धुनिवेशी नगरपालिकाका प्रमुख बालकृष्ण आर्चाय, उपप्रमुख निरु खरेल, धुनिवेशी स्वास्थ्य शाखाका शिवहरी भट्ट, ध्रुव अधिकारी लगायत स्वास्थ्य कार्यालयका अन्य कर्मचारीहरुको सहभागिता रहेको थियो ।
