भदौ २५ बाट दशैँको अग्रिम टिकट बुकिङ खुल्ला गर्न प्रस्ताव
१६ भदौ । सरकारले भदौ २५ गतेबाट दशैँको अग्रिम टिकट बुकिङ खोल्न प्रस्ताव गरेको छ । यातायात व्यवस्था विभागले यसबारे छलफल गर्न व्यवसायीलाई बुधबार बोलाएको छ । व्यवसायी सहमत भए २५ गतेबाट बुकिङ खुल्ने विभागमा महानिर्देशक गोगन बहादुर हमालले जानकारी दिनुभयो । व्यवसायीले भाडादर बढाउनुपर्ने माग गरेका छन् । विभागसँग भएको छलफलमा उनीहरुले वैज्ञानिक भाडा समायोजन लगायतका मुद्दा उठाएका छन् ।
२०६९ सालपछि वैज्ञानिक रुपमा भाडा समायोजन नभएकाले भाडा समायोजन गर्नुपर्ने उनीहरुको अडान छ । डेढ महिनाअघि सरकारले भाडादर समायोजन गरेको थियो । तर, पाँच घण्टा नबित्दै निर्णय फिर्ता लिएको थियो ।
यातायात व्यवसायीले अब दशैँको अग्रिम टिकट बुकिङ खोल्ने समयमा भाडादर समायोजनलाई मुद्दा बनाएका छन् ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले सरकारले उचित वातावरण तयार गरे बुकिङ खोल्ने बताउनुभयो । उहाँले सडकलाई सुधार गरेर सवारीसाधन चल्न सक्ने बनाउन पनि सरकारको ध्यानाकर्षण गरिने बताउनुभयो । सरकारले हरेक वर्ष दशैंमा काठमाडौंबाट घर फर्किनेका लागि अग्रिम टिकट बुकिङ खुलाउने गरेको छ ।
