योगेश भट्टराई पर्यटन मन्त्री नियुक्त, ४ बजे सपथ

Share it with you friends

नेपाल कम्युनिष्ट पार्टीका सांसद योगेश भट्टराई मन्त्री बन्ने भएका छन्।

बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले भट्टराईलाई पर्यटन, नागरिक तथा उड्ययन मन्त्री नियुक्त गरेका हुन्।

उनले आज दिउँसो ४ बजे सपथ लिनेछन्।

तत्कालीन पर्यटन मन्त्री रवीन्द्र अधिकारीको २०७५ फागुन १५ गते ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा परी निधन भएको थियो। त्यसपछि पर्यटन मन्त्रालय प्रधानमन्त्री ओली आफैंले राखेका थिए।

पाँच महिनापछि प्रधानमन्त्री ओलीले भट्टराईलाई पर्यटन मन्त्रालयको जिम्मेवारी दिएका हुन्। प्रधानमन्त्रीले मन्त्रिपरिषद नै फेरबदल गर्ने चर्चा पनि चलिरहेको छ। तर आज भने भट्टराईले मात्र मन्त्रीको सपथ लिने बालुवाटार स्रोतले जनाएको छ।

२०२३ साल भदौ २१ गते ताप्लेजुङमा जन्मिएका भट्टराई ताप्लेजुङबाट नेकपाका प्रतिनिधिसभा सदस्य हुन्।

चुनावी अभियानमा ताप्लेजुङ गएका बेला तत्कालीन एमालेका अध्यक्ष एवम् वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले ताप्लेजुङबासीले भट्टराईलाई चुनाव जिताएर पठाए आफूले मन्त्री बनाउने बचन दिएका थिए।

तर यसअघि मन्त्रिपरिषद् विस्तार गर्दा भट्टराई ओलीको रोजाइमा परेनन्। सरकारका विवादास्पद निर्णयहरुको आलोचना गर्दै आएका भट्टराईले पछिल्लो समयमा भने सरकारबारे सन्तुलित टिप्पणी गर्दै आएका थिए।

२०३७ सालदेखि अनेरास्ववियुको राजनीति सुरू गरेका उनी २०५१ मा अनेरास्ववियुको सभापति भएका थिए। २०५४ मा एमाले फुटेर माले बन्दा त्यसको विद्यार्थी संगठनको अध्यक्ष योगेश भट्टराई थिए भने महासचिव रवीन्द्र अधिकारी थिए। २०७५ सालसम्म आइपुग्दा पार्टीको शक्ति सन्तुलनमा भट्टराई माधवकुमार नेपाल र अधिकारी वामदेव गौतम हुँदै केपी ओली खेमामा पुगेका थिए।

२०६५ सालमा तत्कालीन नेकपा एमालेको बुटवल महाधिवेशनबाट केन्द्रीय सदस्यमा विजयी भएपछि पार्टीभित्र भट्टराईको लोकप्रियता बढेको थियो। पार्टी पंक्तिमा भट्टराई विशेषगरी युवाहरुको रोजाइमा पर्ने गर्छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *