लुक्ला उडेको सीता एयरको विमान दुर्घटनाबाट जोगियो
२५ असोज २०७६, शनिबार ।
सीता एयरको विमान ठूलो दुर्घटनाबाट जोगिएको छ । शनिबार बिहान ८ः३० बजे रामेछापको मन्थलीबाट सोलुखुम्बुको तेञ्जिङ हिलारी विमानस्थल लुक्लातर्फ उडेको उक्त ट्वीटअटर विमान दुर्घटनाबाट जोगिएको हो । नागरिक उड्डयन कार्यालय रामेछापका प्रमुख अमित कुमार चौरसियाका अनुसार विमानको इन्जिनभित्रै चरा पसेको थियो । उड्ने तयारीमा रहेको विमान धावनमार्गको करीब ७५ प्रतिशत भाग पार गरेपछि चरा ठोक्किएको र फरक आवाज आएको विमानस्थल कार्यालयले जनाएको छ ।
चालक दललाई चरा ठोक्किएको विषयमा तत्काल जानकारी भएकाले सोही विमानस्थलमा आकस्मिक अवतरण गराइएको विमानस्थल प्रमुख चौरसियाले जानकारी दिनुभयो । तीन चालक दलका सदस्यसहित १३ विदेशी पर्यटक यात्रु लिएर उडेको सीता एयरको ९ एन–आई–ई विमान सकुशल अवतरण सफल भएको बताइएको छ । यसरी विमानको इन्जिनभित्रै चरा पसे पनि सकुशल अवतरण गराइएकाले यसलाई सामान्य रुपमा लिइने विमानस्थल कार्यालयले जनाएको छ ।
