सागको अन्तिम दिन आज काठमाडौँको मुख्य सडक क्षेत्रमा जोर नम्बर प्लेट भएका गाडी मात्र सवारी सञ्चालनमा आउने
२४ मंसिर २०७६, मंगलबार । तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग) को समापनको दिन आज काठमाडौँका मुख्य सडक क्षेत्रमा बिजोर नम्बर प्लेट भएका गाडीलाई सञ्चालनमा रोक लगाइएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले यातायात व्यवस्थापनका लागि जोरबिजोर प्रणाली लागू गरेको जनाउँदै आज जोर नम्बर प्लेटका गाडी मात्रै चलाउन अनुरोध गरेको छ । यसअघि साग उद्घाटनका दिन जोर नम्बर प्लेटका गाडी चलाउन रोक लगाइएको थियो ।
सरकारी, अत्यावश्यक सेवा, खेलसँग आबद्ध र सञ्चारकर्मीले बाहेक अन्यले आज सकेसम्म सवारी नचलाई प्रहरीलाई सहयोग गर्न अनुरोध गरिएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले जानकारी दिनुभयो । महाशाखाले एक सूचना जारी गरी सागको ट्राफिक व्यवस्थापनलाई चुस्त र सुरक्षित बनाउन ठूला मालवाहक सवारी साधन रिङ्रोडभित्र प्रवेश नगरिदिन चालकलाई अनुरोध समेत गरेको छ ।
