५६ जिल्लामा डेंगुको संक्रमण, ६ जनाको मृत्यु
२३ भदौ, २०७६, सोमबार ।
वैशाख अन्तिम साताबाट सुनसरीको धरानदेखि फैलिएको डेंगुको संक्रमण अहिले सम्म ५६ जिल्लामा फैलिसकेको छ । स्वास्थ्य सेवा विभागको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार अहिलेसम्म प्रदेश नं. १ को ९ , प्रदेश नं. २ को ७, प्रदेश नं. ३ को १२, गण्डकी प्रदेशको १०, प्रदेश नं. ५ को ११, कर्णाली प्रदेशको २ र सुदूरपश्चिम प्रदेशको ५ जिल्ला गरी देशभर ५६ जिल्लामा डेंङ्गुको संक्रमण फैलिएको छ ।
अहिले सम्म डेंगुको संक्रमणबाट ६ जनाको मृत्यु भएको महाशाखाले जनाएको छ । मृत्यु हुने मध्ये काठमाडौँमा २ र सिन्धुपाल्चोक, सुनसरी, चितवन र डोटीमा एक—एक जना रहेका छन् ।
साउन १ गते देखि भदौ २२ गते सम्म ३ हजार ८ सय ९९ जना डेंगुको नयाँ बिरामी थपिएको महाशाखाले जनाएको छ ।
थपिएको यो संख्या सँगै वैशाखदेखि यता बिरामीको संख्या ७ हजार नाघेको जनाइएको छ । साउन १ देखि २२ सम्म प्रदेशगत रुपमा हेर्ने नै भने सबै भन्दा धेरै संक्रमित र मृत्यु हुनेको संख्या प्रदेश नं.३ मा देखिएको छ ।
प्रदेश नं. ३ मा अहिलेसम्म ४ जनाको मृत्यु भएको छ भने साउनदेखि यता २ हजार १० जना नयाँ बिरामी थपिएका छन् । यस्तै साउनदेखि यता प्रदेश नं. १ मा ८३१, प्रदेश नं.२ मा ३९, गण्डकी प्रदेशमा ८९६, प्रदेश नं. ५ मा ९७, कर्णाली प्रदेशमा ३ र सुदूरपश्चिम प्रदेशमा २३ मा डेंगुको संक्रमण देखिएको छ ।

डेंगु एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको सरुवा रोग हो । डेंगुको भाइरसबाट संक्रमित लामखुट्टेको टोकाइले यो रोग सार्दछ । यो लामखुट्टेले विशेषगरी दिउँसो मात्र टोक्ने गर्दछ । वर्षाको समय सुरुभएपछि डेंगु ज्वरोको प्रकोप बढ्न थाल्दछ ।
ज्वरो आउने, बेस्सरी टाउको दुख्ने, आँखाको गेडी दुख्ने, शरीरमा डाबरहरु आउने, अरुचि हुने, जोर्नी तथा मांसपेशीहरु बेस्सरी दुख्ने, रातो बिबिरा देखिनु डेंगुका लक्षणहरु हुन् ।
