देउवाले पदाधिकारीको नाम टुंग्याए, उपसभापतिमा निधि,गच्छदारको हैसियत पौडेल बराबर

Share it with you friends

काठमाडौं ,२९ चैत । कांग्रेस सभापति शेरबहादुर देउवा जारी केन्द्रीय समिति बैठकबाटै पदाधिकारी मनोनीत गर्ने तयारीमा छन् । मनोनयन गर्ने उपसभापति, एक महामन्त्री र सहमहामन्त्रीको नाम उनले टुंगो लगाइसकेका छन् ।

पटक–पटकको छलफलपछि देउवाले मनोनयन गर्ने पदाधिकारीको नाम टुंग्याएका हुन् । केन्द्रीय समितिले मनोनयन गर्ने उपसभापति, महामन्त्री र सहमहामन्त्रीको नाम तयार भइसकेको बूढानीलकण्ठ स्रोतले बतायो । निर्वाचन समीक्षाका लागि ९ चैतमा सुरु भएके केन्द्रीय समितिको अन्तिम बैठकमा देउवाले पदाधिकारीको नाम प्रस्ताव गर्ने स्वकीय सचिव भानु देउवाले बताए ।

‘जारी बैठकको अन्तिममा पदाधिकारीको नाम प्रस्ताव गर्ने तयारीमा सभापति हुनुहुन्छ,’ स्वकिय सचिव देउवाले नयाँ पत्रिकासँग भने, ‘त्यसका लागि आवश्यक गृहकार्यमा उहाँ व्यस्त हुनुहुन्छ ।’ केन्द्रीय सदस्य एवं पूर्वमन्त्री खुमबहादुर खड्काको निधनपछि १६ चैतबाट स्थगित बैठक ७ वैशाखमा बोलाइएको छ ।

क–कसलाई रोजे देउवाले ?
सभापति देउवाले उपसभापतिमा विमलेन्द्र निधि, महामन्त्रीमा पूर्णबहादुर खड्का र सहमहामन्त्रीमा मानबहादुर विश्वकर्मालाई मनोनित गर्ने तयारी गरेको स्रोतले बतायो । तर, खड्का र विश्वकर्माको नाममा पार्टीभित्र असन्तुष्टि छ ।

विमलेन्द्र निधिलाई उपसभापति बनाउने सवालमा भने कुनै धेरै विमति नरहेको स्रोतको दाबी छ । ‘सभापतिले टुंग्याएको नाममा उपसभापतिमा कसैको विमति छैन, महामन्त्री र सहमहामन्त्रीमा भने केही नेताले असन्तुष्टि जनाइरहनुभएको छ,’ देउवानिकट एक नेताले भने, ‘हाम्रा सभापतिको त निर्णय नगर्दासम्म भर हुँदैन, त्यसैले महामन्त्री र सहमहामन्त्री परिवर्तन हुन सक्ने सम्भावना छ । उपसभापति फिक्स्ड हो ।’

उपसभापतिमा दाबी गरिरहेका खड्काको निधनपछि निधिको बाटो सहज भएको हो । त्यसो त गोपालमान श्रेष्ठ पनि दाबेदार थिए, तर उनीसँग सहमति लिएर देउवाले निधिलाई रोजेका हुन् । ‘सभापतिले पूर्वउपसभापति श्रेष्ठलाई आफ्नो निर्णय जानकारी गराएर सहयोग गर्न आग्रह गर्नुभयो, उहाँले सहमति जनाइसक्नुभएको छ,’ स्रोतले भन्यो ।

तर, महामन्त्रीमा ज्ञानेन्द्रबहादुर कार्की र बालकृष्ण खाणको पनि दाबी छ । खाणलाई देउवाले यसअघि नै प्रमुख सचेतक बनाए पनि स्वीकार गरेका थिएनन् । पदाधिकारीमा नअटाउने डरले उनले प्रमुख सचेतक अस्वीकार गरेका थिए । तर, पछि देउवाले समेट्ने आश्वासन दिएपछि उक्त पद स्विकारेका थिए । त्यसो त नातेदारसमेत रहेका कार्कीलाई महामन्त्री बनाउने आश्वासन देउवाले सभापतिमा निर्वाचित भएदेखि नै दिँदै आएका थिए । तर, सरकारको नेतृत्व गर्दा अर्थमन्त्री बनेका कार्कीले सहयोग नगरेको भन्दै देउवा रुष्ट छन् । कार्कीले श्रीमती डा। आरजु राणा देउवाले भनेको काम गरेको, तर आफूले भनेको नटेरेको उनको निष्कर्ष छ । हालै दुवै नेताले देउवालाई भेटेर पदाधिकारीमा नसमेटेको भन्दै असन्तुष्टि जनाएको बूढानीलकण्ठ स्रोतले बतायो ।

यता सहमहामन्त्रीमा विश्वकर्माको नाम अगाडि सारेपछि एनपी साउद र डा। प्रकाशशरण महतले असन्तुष्टि जनाएका छन् । तर, माओवादी अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारमा परराष्ट्रमन्त्री छँदा महतले आफ्नो छवी बिगार्ने गरी राजदूतमा नाम सिफारिस गरेको भन्दै देउवा पदाधिकारीमा तान्न इच्छुक छैनन् । साउदलाई देउवाले सुदूरपश्चिमबाट उकास्न चाहन्छन् । तर, नेता विश्वकर्मालाई सहमहामन्त्री बनाउने आश्वासन दिएर १३औँ महाधिवेशनमै आफ्नो गुटमा तानेकाले देउवा अप्ठ्यारोमा परेका छन् ।

पौडेल पक्ष असन्तुष्ट
उपसभापति, महामन्त्री र सहमहामन्त्री आफ्नै गुटका नेता चयन गर्न खोजेपछि नेता रामचन्द्र पौडेल पक्ष असन्तुष्ट बनेको छ । पौडेल पक्षले १२औँ महाधिवेशनपछि सुशील कोइरालाले आफ्नो पक्षमा बहुमत भए पनि देउवालाई सहमहामन्त्री दिएको नजिर पेस गर्दै एउटा पद दिन माग गरिरहेको छ । नेता पौडेलले देउवालाई भेटेर परम्परा नतोड्न आग्रह गरिसकेका छन् । देउवा पौडेललाई एउटा पदाधिकारी दिँदा पदाधिकारीमा आफ्नो बहुमत नपुग्ने हिसाबमा छन् । उनले पौडेललाई सहयोग गर्न आग्रह गरेका छन् । तर, पौडेल पक्षधर नेता प्रकाशमान सिंहले एकपक्षीय रुपमा सभापति अगाडि बढे केन्द्रीय समिति बैठकमा प्रतिरोध गर्ने बताए । ‘हाम्रो चाहना सभापति विधानअनुसार चल्नुहुन्छ भन्ने हो । तर, उहाँले एकलौटी गर्न खोजे हामी प्रतिरोध गर्न बाध्य हुनेछौं,’ सिंहले भने ।

संस्थापनको स्पष्ट बहुमत
कांग्रेस विधानमा निर्वाचित केन्द्रीय सदस्यमध्येबाट उपसभापति, महामन्त्री र सहमहामन्त्री मनोनयनका लागि सभापतिले केन्द्रीय समिति बैठकमा नाम प्रस्ताव गर्ने व्यवस्था छ । प्रस्तावित नाममा सहमति जुट्न नसके निर्वाचित केन्द्रीय सदस्यको बैठकले मतदानमार्फत टुंगो लगाउने प्रावधान विधानमा छ । ८५ सदस्यीय केन्द्रीय समिति रहने कांग्रेसमा महाधिवेशनबाट सभापति, महामन्त्री, कोषाध्यक्षसहित ६४ सदस्यीय केन्द्रीय समिति निर्वाचित हुन्छन् । खुमबहादुर खड्काको निधनपछि कांग्रेसको केन्द्रीय समितिमा ६३ मात्र निर्वाचित सदस्य छन् । जसमा संस्थापनको ३५ मत छ, जुन स्पष्ट बहुमत हो ।

महासमिति बैठक जेठ दोस्रो साता
पार्टीको महाधिवेशनपछिको दोस्रो ठूलो निकाय महासमिति बैठक जेठ दोस्रो साता बोलाउने तयारी देउवाको छ । जारी केन्द्रीय समिति बैठकले मितिको टुंगो लगाउने प्रवक्ता विश्वप्रकाश शर्माले बताए । ‘जेठको दोस्रो साता महासमिति बैठक बोलाउने तयारीमा हामी छौँ, बैठकको मिति जारी केन्द्रीय समिति बैठकले टुंग्याउँछ,’ शर्माले भने । कांग्रेसमा महासममिति बैठक पार्टी विधान संशोधन गर्न सक्ने एक मात्र निकाय हो ।

मुलुक संघीयतामा गएर निर्वाचन भई सरकार र संसद्ले कार्य थाल्दासम्म कांग्रेसले प्रदेशबाट दुई केन्द्रीय सदस्य निर्वाचित गर्नेबाहेक कुनै निकाय बनाउन सकेको छैन । त्यस्तै, क्षेत्रीय समिति २ सय ४० बाट १ सय ६५ बनाउन, स्थानीय तहमा भएका एकाइ समायोजन गरी ७ सय ५३ बनाउन र पार्टीको प्रदेश संरचना कस्तो बनाउने भन्ने तय गर्न पनि महासमिति बैठक आवश्यक देखिएको छ । विधान संशोधनका लागि मस्यौदा समिति गठन पनि जारी केन्द्रीय समितिले गठन गर्नेछ । नयाँ संविधानअनुसार पार्टी संगठनलाई ढाल्ने गरी विधान संशोधनको मस्यौदा समितिले तयार गर्ने र त्यसलाई महासमितिबाट पारित गराउने कांग्रेस संस्थापनको तयारी छ ।

गच्छदारको हैसियत पौडेलबराबर
विजयकुमार गच्छदारलाई रामचन्द्र पौडेलबराबरको हैसियत दिने तयारी देउवाको छ । गच्छदार र पौडेललाई उपसभापतिभन्दा माथिको हैसियत दिने तयारीमा सभापति रहेको स्रोतले बतायो । कांग्रेस विधानमा वरिष्ठ नेताको प्रावधान छैन । तर, फुटेको कांग्रेस एक भएपछि व्यवहारमा एउटा नेतालाई उपसभापतिमाथिको हैसियत दिने गरिएको छ । देउवाले पौडेल र गच्छदारलाई उक्त हैसियत दिने तयारी गरेका हुन् । यो समाचार आजको नयाँ पत्रिकाले छापेको छ ।

  • Related Posts

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    काठमाडौँ । वाणिज्य बैंकहरूले असार महिनाका लागि सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार अधिकांश बैंकले निक्षेपको ब्याजदर स्थिर राखेका छन् भने पाँच बैंकले मुद्दती निक्षेपको ब्याजदर घटाएका छन्। बैंकहरूले प्रत्येक महिनाको…

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    नेपालको पहिलो व्यावसायिक सुरुङमार्ग ‘नागढुंगा-सिस्नेखोला सुरुङमार्ग’ आगामी साउनदेखि सञ्चालन गर्ने गरी तयारी भइरहेको छ । नागढुंगा-सिस्नेखोला सुरुङमार्ग आयोजनाका प्रमुख सौजन्य नेपालका अनुसार आवश्यक तयारी गरेर आगामी साउनको तेस्रो सातासम्म सुरुङमार्ग…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १२:३२
    • 9 views
    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३७
    • 10 views
    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३२
    • 9 views
    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:४३
    • 20 views
    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:३७
    • 20 views
    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२६
    • 20 views
    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते