परालको धुवाँ भारतको असर नेपालमा
काठमाडौँे । भारतको हरियाणा र पञ्जाब राज्यका किसानले डढाएको परालको धुवाँ नेपाल प्रवेश गरेको छ । यससँगै नेपालमा पनि वायु प्रदूषणको खतरा निम्तिने र नागरिकमा स्वास्थ्य समस्या बढ्न सक्ने भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरेका छन । यी दुई सहरका किसानले हरेक वर्ष धान भित्र्याएपछि मलका रूपमा प्रयोग गर्न पराल डढाउने गर्छन । विशेषगरी कात्तिक र मङ्सिर महिनामा पराल जलाउने गरिन्छ । तर यसबाट उत्पन्न हुने वायु प्रदूषणलाई न्यूनीकरण गर्ने विषयमा भने दुवै मुलुकबाट प्रभावकारी कदम चालिएको छैन ।
पराल जलाउनेक्रममा दुर्घटनासमेत निम्तिने गरेका छन । नासाले गरेको एक अध्ययनअनुसार गत वर्ष मात्रै पराल जलाउनेक्रममा २२२ वटा दुर्घटना भएका थिए । यो वर्ष पनि किसानले पराल जलाउन सुरु गरिसकेका छन । त्यसबाट निस्केको धुवाँ सीमावर्ती क्षेत्रमा छिर्न थालेको छ । त्रिभुवन विश्वविद्यालय जल तथा मौसम विज्ञान विभागका सहप्राध्यापक डा. विनोद पोखरेलले भन्नुभयो, “पञ्जाब र हरियाणा राज्यमा धान काटेपछि पराल डढाउने कार्य सुरु भएको देखिन्छ । यसबाट निक्लने प्रदूषित हावा केही समयमा काठमाडौँ लगायत देशका धेरै क्षेत्रसम्म आउने सम्भावना देखिन्छ ।” पराल जलाउनुको सट्टा भारत सरकारले अन्य विकल्प खोज्नुपर्ने र यो क्षेत्रीय समस्या भएकाले नेपाल सरकारले पनि आवाज उठाउनुपर्ने पोखरेलले बताउनुभयो । परालको धुवाँबाट हावा प्रदूषित भएपछि नागरिकको श्वासप्रश्वासमा प्रत्यक्ष असर पर्छ । साथै निमोनिया, क्यान्सरलगायतका प्राणघातक रोगसमेत निम्तिन सक्ने जनस्वास्थ्यविद्हरूको भनाइ छ ।
नेपालमा त्रिभुवन विश्वविद्यालय जल तथा मौसम विज्ञान विभागका प्राध्यापकहरू समेतको संलग्नतामा भएको अध्ययनबाट हरियाणा र पञ्जाबमा जलाइने परालको असर नेपालसहित अन्य मुलुकमा समेत पर्ने गरेको उल्लेख गरिएको छ । भारतको उत्तरप्रदेशमा कृषि अवशेष जलाउने मौसममा मध्य हिमाली क्षेत्रमा वायु प्रदूषणको असरसम्बन्धी उक्त अध्ययन प्रतिवेदनमा वायु प्रदूषण न्यूनीकरण गर्न नेपाल र भारतबीच सहकार्य गर्नुपर्ने सुझाव दिइएको छ । सन २०१८ मा उत्तर–पूर्वी एसियाली मुलुकबीच स्वच्छ हावाका लागि सहकार्य गर्ने विषयमा सम्झौता भएको थियो । सोही सम्झौताअनुसार सहकार्य भएमा वायु प्रदूषण न्यूनीकरण गर्न सकिने सहप्राध्यापक पोखरेलसमेत संलग्न हुनुभएको उक्त प्रतिवेदनले सुझाव दिएको छ । हरियाणा भारतको धेरै जनसङ्ख्या भएको सहरमा पर्छ ।
