Breaking Newsराष्ट्रिय समाचार

प्रचण्ड सहितका सात उम्मेदवारलाई आयोगले माग्यो स्पष्टीकरण

Share it with you friends

काठमाडौँ । निर्वाचन आयोगले आचारसंहिता उल्लङ्घन गरेको भन्दै नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहित सात उम्मेदवारलाई स्पष्टीकरण माग गरेको छ । गोरखा क्षेत्र नं। २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार प्रचण्ड र सोही पार्टीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्यका चितवन क्षेत्र नं. २ का उम्मेदवार रवि लामिछानेलाई निर्वाचन प्रचारप्रसारका क्रममा टोपी प्रयोग गरेको सम्बन्धमा स्पष्टीकरण सोधेको हो ।
अध्यक्ष दाहाल र उपाध्यक्ष श्रेष्ठ समेत उपस्थित कार्यक्रममा केही व्यक्तिले हँसिया हथौडाको सङ्केत रहेको नेपाली टोपी प्रयोग गरेको सम्बन्धमा आयोगमा प्राप्त उजुरीका आधारमा सो स्पष्टीकरण सोधिएको हो । यस्तै “रवि लामिछानेलाई विजयी बनाऔँ, यसपालिको मतदान रवि लामिछानेलाई” भन्ने ब्यहोरा छापिएको टोपी प्रयोग गरेको भनी आएको उजुरीका आधारमा लामिछानेलाई स्पष्टीकरण सोधिएको छ ।
निर्वाचन आचारसंहिताको दफा १३ को उपदफा ९१० को खण्ड (घ) मा जुलुस वा आमसभामा भाग लिने वा प्रचारप्रसार गर्ने व्यक्तिले दल वा उम्मेदवारको निर्वाचन चिन्ह वा झन्डा अङ्कित लोगो वा स्टिकर वा कपडा, टोपी वा क्याप, भेष्ट, टिसर्ट, ज्याकेट, कमिज, गम्छा, ब्याच, मास्क वा लकेट लगाउन वा झोला बोक्न नहुने व्यवस्था रहेको छ । यसैविच जनता समाजवादी पार्टीको तर्फबाट प्रतिनिधि सभा सदस्यका लागि बाँके क्षेत्र नं. २ का उम्मेदवार मोहम्मद इस्तियाक राईलाई निर्वाचन आयोगले २४ घण्टे स्पष्टीकरण सोधेको छ । निर्वाचनको प्रचारप्रसारको क्रममा राईले डुडुवा गाउँपालिकाका अध्यक्ष सुरेन्द्र चौधरी (पप्पु) का विरुद्ध अपमानजनक अभिव्यक्ति दिएको उजुरीका आधारमा आयोगले स्पष्टीकरण सोधेको हो ।
स्पष्टीकरण पत्रमा आफैँ वा आफ्नो प्रतिनिधिमार्फत निर्वाचन आयोग वा जिल्ला निर्वाचन कार्यालय बाँकेमा प्राप्त हुने गरी जवाफ पेस गर्न निर्देशन दिइएको छ । निर्वाचन आचारसंहिता, २०७९ को दफा ४ मा सबैले पालना गर्नुपर्ने आचरण अन्तर्गतको खण्ड (ण) को प्रावधान ‘कसैको चरित्र हत्या गर्न, व्यक्तिगत लाञ्छना लगाउन वा यस्तै प्रकृतिका सामग्री कुनै स्वरूपमा उत्पादन गर्न तथा त्यस्ता सामग्री कुनै माध्यमबाट प्रकाशन वा प्रसारण गर्न वा गराउन नहुने’ व्यवस्था स्मरण गराइएको छ ।
यस्तै लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष एवं प्रतिनिधि सभा सदस्यका लागि महोत्तरी क्षेत्र नं। ३ का उम्मेदवार महन्थ ठाकुर, नेकपा (एमाले) को तर्फबाट प्रदेश सभा सदस्यका लागि दाङ क्षेत्र नं. ३ का उम्मेदवार हुकुम बहादुर बस्नेत तथा प्रतिनिधि सभा सदस्यका लागि झापा क्षेत्र नं. २ का स्वतन्त्र उम्मेदवार भद्र प्रसाद नेपाललाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ । स्पष्टीकरण पत्रमा ठाकुरले बालबालिकालाई आफ्नो निर्वाचन चिन्ह अङ्कित पम्प्लेट लिई वितरण गर्न हिँडिरहेको देखिने सामग्री संलग्न गरी आयोगमा उजुरी प्राप्त भएको, बस्नेतले आफ्नो निर्वाचन प्रचारप्रसार गर्दा बालबालिकाको प्रयोग गरेको फोटो समेतको सामग्री आयोगमा प्राप्त भएको, तथा नेपालले बालबालिकाको समूहमा हात मिलाउँदै ‘भोट के मा खुकुरीमा’ भनी नारा लगाउन लगाएको देखिने श्रव्य दृश्य सामग्री समेत संलग्न गरी आयोगमा उजुरी प्राप्त भएको उल्लेख छ ।
स्पष्टीकरण पत्रमा ठाकुर र नेपाललाई कुनै माध्यमबाट पत्र प्राप्त भएको २४ घण्टाभित्र निवाएचन आयोग वा आ–आफ्नो जिल्ला निर्वाचन कार्यालयमा प्राप्त हुने गरी स्पष्टीकरण जवाफ पेस गर्न निर्देशन दिएको छ । बस्नेतलाई २४ घण्टाभित्र आफैँ वा आफ्नो प्रतिनिधिमार्फत निर्वाचन आयोग वा जिल्ला निर्र्वाचन कार्यालय दाङमा प्राप्त हुने गरी जवाफ पेस गर्न निर्देशन दिइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *