दुई लाख ४६ हजार ९ सय ६० कर्मचारी परिचालन गरिने
काठमाडौं । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले दुई लाख ४६ हजार ९ सय ६० कर्मचारी परिचालन गर्ने भएको छ । निर्वाचन आयोगका उप सचिव कमल ज्ञवालीका अनुसार सुरक्षा निकाय बाहेक निजामती तर्फका दुई लाख ४६ हजार ९ सय ६० कर्मचारी परिचालन हुने भएका हुन । यो जनशक्ति निर्देशिकाले स्वीकृति गरेको हो। यसमा केही सङ्ख्या तलमाथि हुन सक्ने भन्दै उहाँले भन्नुभयो, “जनशक्ति व्यवस्थापन सात किसिमबाट हुन्छ । यो चार चरणमा गरिएको छ ।” जनशक्ति व्यवस्थापनमा निर्वाचन आयोग, सात वटा प्रदेश कार्यालय र ७० वटा निर्वाचन कार्यालयमा नौ सय जनशक्ति परिचालन गरिएका छन । त्यसका लागि काजका कर्मचारी पनि खटिने छन ।
दोस्रोमा मुख्य निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन अधिकृतको कार्यालयमा प्रयोग हुने कर्मचारी हुन्छन । उहाँहरू तालिम लिएका जनशक्ति हुन । निर्वाचन कार्यालयबाट स्वीकृत कार्यक्रम अन्तर्गत आजसम्मका कार्यक्रम सञ्चालन भइरहेको छ । निर्वाचन हुन १२ दिन मात्रै बाँकी रहेकाले अबको जनशक्ति व्यवस्थापन मतदान केन्द्रसम्म हुन्छ । ती मतदान केन्द्रसम्म जनशक्ति व्यवस्थापन गर्ने सम्बन्धमा जनशक्ति निर्देशिकाले सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा समिति गठन गरेको छ ।
समितिले निजामती, सङ्घीय, प्रदेश वा स्थानीय तहका कर्मचारीलाई प्रयोग गर्न सक्नेछ । उहाँका अनुसार सबै जिल्लामा विवरण पठाइ सकिएको छ । यसरी जिल्लाबाट जनशक्ति व्यवस्थापन समन्वयबाट प्राप्त भएका जनशक्तिको विवरणलाई मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतले सबै जिल्लामा भएका मतदान केन्द्रको केन्द्रगत आधारमा मतदान अधिकृत, सहायक मतदान अधिकृत र सहायक कर्मचारीलाई नियुक्त गर्नेछ ।
अधिकांश जिल्लामा नियुक्ति गर्ने प्रक्रिया सकिएको उहाँले बताउनुभयो । अब ती जनशक्तिलाई तालिम दिएर सम्बन्धित मतदानस्थलमा पठाउने प्रक्रिया सुरु भएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “अब निर्वाचन १२ दिन मात्र बाँकी रहेकाले कतिपय निर्वाचन क्षेत्रबाट निर्वाचन अधिकृत र मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट मतदान केन्द्रसम्म जानुपर्ने र विकट जिल्लामा पुग्न सात दिनसम्म हिँड्नुपर्ने भएकाले स्वीकृत कार्यविधिले मतदान केन्द्रमा तीन दिन अगाडि पुग्नुपर्ने भनेको छ ।”
अबको दुई दिनपछि दुर्गम जिल्लाका कर्मचारी मतदान केन्द्रमा हिँड्नुपर्ने हुन्छ । उहाँहरू जाँदा निर्वाचन सामाग्री मतपत्र तथा मत पेटिकासँगै लिएर जानुपर्ने हुन्छ । उहाँहरू सुरक्षा संयन्त्रसहित जाने उहाँले बताउनुभयो । मङ्सिर ४ गते साँझ ५ बजे निर्वाचनको कार्य सम्पन्न हुन्छ । सम्पन्न भइसकेपछि ती मत पेटिका मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा ल्याउनुपर्ने हुन्छ । त्यहाँ ल्याइसकेपछि चौथो चरणको जनशक्ति परिचालन हुन्छन । त्यसका लागि सार्वजनिक निकायमा काम गर्ने सरकारी जिम्मेवार कर्मचारीलाई खटाइएको हुन्छ ।
समानुपातिक निर्वाचन प्रणालीमा काम गर्ने कर्मचारीलाई आयोगभित्रैबाट सचिवले नियुक्ति गरेर समानुपातिक निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ । समानुपातिक निर्वाचन अधिकृतको कार्यालयमा ४६ जना कर्मचारीको दरबन्दी स्वीकृत छ । यसरी देशभर सुरक्षा निकाय बाहेक निजामती क्षेत्रबाट दुई लाख ४६ हजार ९६० कर्मचारी परिचालन हुन्छन । उहाँहरूको सेवा सुविधा आर्थिक कार्यविधिले व्यवस्थापन गर्नेछ । यसका लागि सामूहिक दुर्घटना बीमा गरिएको छ । सामूहिक दुर्घटना बीमा २० लाखको रहेको पनि उहाले बताउनुभयो । कुनै दुर्घटना भएर उपचार गराउनुपर्ने वा निधन भएमा २० लाख क्षतिपूर्ति दिने गरी व्यवस्थापन गरिएको छ । समग्रमा सात चरण र समानुपातिक निर्वाचन प्रणालीको कुरामा पाँच चरणमा जनशक्तिलाई परिचालन गर्ने गरी आयोगले प्रबन्ध मिलाएको उहाँले बताउनुभयो ।
