नेपाल पत्रकार महासंघ जिल्ला शाखा धादिङ उत्कृष्ट जिल्ला शाखाका रूपमा सम्मानित भएको छ।
नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिले शाखाको संगठनात्मक सक्रियता, सदस्यता नवीकरण, साधारणसभा सञ्चालन तथा पत्रकारहरूको हकहित र पेशागत अधिकार संरक्षणमा खेलेको प्रभावकारी भूमिकाको मूल्याङ्कन गर्दै धादिङ शाखालाई उत्कृष्ट घोषणा गरेको हो।
बागमती प्रदेश समितिका अनुसार महासंघ अन्तर्गतका जिल्ला शाखामध्ये धादिङ शाखाले संगठनात्मक जिम्मेवारीहरू सफलतापूर्वक सम्पन्न गर्दै सक्रिय र उदाहरणीय कार्यसम्पादन गरेको आधारमा सम्मान प्रदान गरिएको हो।
सम्मान प्राप्तिपछि नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष सीताराम अधिकारीले यसले जिल्लामा क्रियाशील पत्रकारहरूको मनोबल उच्च बनाउनुका साथै पत्रकारिताको व्यावसायिक विकास र संगठनलाई अझ सशक्त बनाउन प्रेरणा प्रदान गरेको बताए ।
उक्त सम्मानलाई धादिङका पत्रकारहरूको सामूहिक मेहनत, एकता र संगठनप्रतिको प्रतिबद्धताको कदरका रूपमा लिइएको छ।





