भक्तपुर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भक्तपुरस्थित भूमिसुधार कार्यालय ब्यासीका नायव सुब्बा (नासु)लाई घुससहित पक्राउ गरेका छ । सेवाग्राहीबाट १० हजार घुस लिइसकेको अवस्थामा ब्यासीका नायव सुब्बा कमल भुजेल परेका हुन् ।
भुजेलले भक्तपुरको चाँगुनारायण ८ स्थित रहेको जग्गाको मोही कायम गर्ने प्रयोजनको लागि सेवाग्राहीसँग घुस रकम माग गरिरहेको भन्ने उजुरीका आधारमा अख्तियारको टोलीले १० हजार घुस रकमसहित नियन्त्रणमा लिएको थियो।
हिरासतमा अनुसन्धानका क्रममा उनले अन्य सेवाग्राहीहरुसँग पनि जग्गाको फिल्ड निरीक्षण गरेबापत ३ हजार र जग्गाको स्थलगत सर्जिमिन गरेबापत १५ हजार घुस रकम माग गरी लिएको भन्ने खुलेपछि उनीविरुद्ध भ्रष्टाचार निवारण ऐनअन्तर्गत कारवाही अघि बढाइएको अख्तियारका सहसचिव एवं प्रवक्ता दीर्घराज मैनालीले जानकारी दिएका छन्।






