भोट माग्दै गाउँ गाउँमा उम्मेदवार
धादिङ । मंसिर ४ गते हुन गईरहेको प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको मिति नजिकिँदै जाँदा धादिङमा राजनीतिक दलहरुले आफ्ना चुनावी अभियानलाई सक्रिय बनाएका छन् । राजनीतिक दलहरु यतिवेला आफ्ना उम्मेदवारहरुका साथमा जिल्लाका विभिन्न गाँउ बस्तीमा मतदाता भेटघाट तथा घरदैलो कार्यक्रममा तल्लिन रहेका छन् । कार्तिकको महिला किसानहरु धान काट्न र भित्र्याउन व्यस्त रहेको यस समयमा राजनीतिक दलहरु किसानको खेतबारीमै पुगेर आफ्ना चुनावी एजेण्डा सहित भोट माग्दै हिड्का छन् । यसैक्रममा विहिवार मात्र नेकपा एमालेका जिल्ला अध्यक्ष समेत रहनुभएका प्रतिनिधि सभा क्षेत्र नम्वर १ का उम्मेदवार भूमी त्रिपाठीले थाक्रे गाउँपालिका वडा नं ७, ८, ९, १० मा मतदाता भेटघाट गर्नुभएको छ । यसैगरी प्रतिनिधि सभा अन्तर्गत धादिङ क्षेत्र नम्वर २ का नेकपा एमालेका उम्मेदवार खेमप्रसाद लोहनीले रुबीभ्याली गाउँपालिकाको सेर्तुङ र तिप्लिङका विभिन्न बस्तीमा मतदाता भेटघाट कार्यक्रम तथा घरदैलो गर्नुभएको छ । यस्तै सत्ता गठबन्धनका तर्फबाट प्रतिनिधि सभा अन्तर्गत धादिङ क्षेत्र नम्वर २ का उम्मेदवार रामनाथ अधिकारीले त्रिपुरासुन्दरी गाउँपालिकाको विभिन्न बस्तीमा चुनावी अभियान शुरु गर्नुभएको छ ।
गाउँको विकास गर्ने एक मात्र पार्टी एमाले ः त्रिपाठी
धादिङ । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा धादिङ निर्वाचन क्षेत्र नं १ का उम्मेदवार भुमि त्रिपाठीले गाउँको विकास गर्ने एक मात्र पार्टी नेकपा एमाले रहेको बताउनु भएको छ ।
चुनावी अभियान अन्तर्गत बिहिबार थाक्रेमा भएको शुभकामना आदानप्रदान तथा घरदैलो कार्यक्रमलाई सम्बोधन गर्दै त्रिपाठीले गाउँलाई मायाँ गर्ने हक एमालेलाइ मात्रै भएको बताउनुभएको हो । जनताका लागि एमाले चाहिने र एमालेले जनताको लागि काम गर्ने भन्दै उहाँले समृद्धिको सपना पुरा गर्न एमालेका उम्मेदवारलाई मत दिन मतदाताहरुसंग अनुरोध गर्नुभयोे । गाउँमा एमालेको पहलमा धेरै ठूला विकासका काम भएकाले अधुरा रहेका विकासका काम गर्न एमालेनै आवश्यक भएको बताउनुभयो । घरदैलो अभियान अन्तर्गत गाउँ गाउँ पुग्नु भएका उम्मेदवार त्रिपाठीलाई टोलटोलमा भव्य स्वागत गरिएको थियो । उहाँले आज थाक्रे गाउँपालिका वडा नं ७, ८, ९, १० मा मतदाता भेटघाट गर्नुभएको छ । कार्यक्रममा क्षेत्र नं १ क का प्रदेश सांसद उम्मेदवार रमेश आचार्य लगाएत एमाले नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

यसैविच चुनावी अभियानका क्रममा रुबीभ्याली गाउँपालिकाका विभिन्न टोल बस्ती पुग्नुभएको नेकपा एमाले धादिङ क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार खेम लोहनीले सत्ता गठबन्धन देशको लागि भारीको रुपमा रहेको बताउनुभएको छ । बिहिबार एमाले र राप्रपाको संयुक्त चुनावी अभियान अन्तर्गत रुवीभ्याली गाउँपालिका–४ सेर्तुङको चालिसेमा भएको सभामा बोल्दै लोहनीले सत्ता गठबन्धनले राम्रो काम गर्न नसक्ने, अहिले पनि नगरेको र भविष्यमा पनि गर्न नसक्ने बताउनुभयो । उहाले जनतालाई सुख, सुबिधा केही पनि दिन नसक्ने भन्दै गठबन्धनलाई मंसिर ४ को निर्वाचनबाट पन्छाउनु पर्ने बताउनुभयो । जितलाई निश्चित गर्नको लागि एमाले र राप्रपा बिच तालमेल भएको भन्दै लोहनीले गाउँ ठाउँको विकासको लागि एमाले–राप्रपाका उम्मेदवारलाई जिताउन आग्रह गर्नुभएको छ ।
लोहनीले पहिलेको निर्वाचनमा तिप्लिङसम्म बाटो पुराउने गरेको बाचा अनुसार हाल तिप्लिङसम्म नै बाटो पुगेको बताउनुभयो । धादिङबेशी साङ्कोष तिप्लिङ सडक आफ्ना पाँच बर्षे कार्यकालको महत्वपुर्ण काम भएको र यसलाई पहिलो प्राथमिकतामा राख्ने उहाले बताउनुभएको छ । कार्यक्रममा राप्रपाबाट प्रदेश सदस्यका उम्मेदवार डम्बर तामाङले धादिङमा एमाले र राप्रपाबिच चुनावी तालमेल भएको र आफु स्थानिय उम्मेदवार भएकाले आफ्नो गाउँ ठाउँको विकास गर्ने र स्थानीयस्तरमा जनताका समस्या र पीरमर्कामा साथमा रहन सक्ने उम्मेदवारलाई मत दिन मतदाताहरुसंग अनुरोध गर्नुभयोे ।

लोहनी र तामाङले आजै रुवीभ्यालीको सेर्तुङ, तिप्लिङ लगाएतको क्षेत्रमा मतदाता भेटघाट गर्नुभएको छ । कार्यक्रममा एमालेका संघिय सांसदका उम्मेदवार खेम लोहनी, राप्रपाबाट प्रदेश सासद उम्मेदवार डम्बर तामाङ, रामहरी, शम्भु थापा लगाएतका एमाले र राप्रपाको जिल्ला तहका नेता कार्यकताहरुको टोलि सहभागिता रहेको छ ।
त्रिपुरासुन्दरीमाई मन्दिरको पहिचान मेटिन दिन्न ः अधिकारी
धादिङ निर्वाचन क्षेत्र नं २ मा लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवार रामनाथ अधिकारीले जनताको आस्था, भरोसा र धरोहरको रुपमा रहेको त्रिपुरासुन्दरीमाई भगवती मन्दिरको अस्तिव र पहिचान मेटिन नदिने बताउनुभएको छ । जलाशययुक्त बुढीगण्डकी आयोजना बनेपछि त्रिपुरासुन्दरी भगवतीको बेसीको मन्दिर डुवानमा पर्ने भएकाले त्यसको उचित स्थानमा पुनस्थापना गर्न र ऐतिहाँसिकता कायम रहने गरी अस्तित्व कायम राख्नको लागि विशेष योजना बनाएर काम गरिने उहाले बताउनुभयो ।
चुनावीप्रचार प्रसार र घरदैलो अभियानको क्रममा बुधवार त्रिपुरासुन्दरी गाउँपालिकाको वडा नंवर ४, ५ र ६ (साविकको सल्यानकोट र आगिन्चोक गाविस) का विभिन्न स्थानमा पुगेर जनताको पीरमर्का बुझ्ने र सुझाव संकलन गर्ने क्रममा उम्मेदवार अधिकारीले त्रिपुरासुन्दरी भगवती लाइ गाउँ बेसी गराउने बाटोलाइ धार्मिक पदयात्राको रुपमा विकसित गर्ने समेत योजना रहेको समेत बताउनुभयो । पुर्वाधार विकासका कामहरुलाइ आवश्यकता आधारमा अघि बढाउदै जनताको जीवन यापनमा सहजता ल्याउनको लागि जस्तोसुकै काम गर्न पनि आफुमा आँट, साहस र तागत रहेको बताउनुभयो ।

चुनाव प्रसार प्रचार अभियानमा गठबन्धनका तर्फबाट प्रदेश सभामा उम्मेदवार रहनुभएका नेकपा माओवादी केन्द्रका नेता जगत सिंखडा, माओवादी नेता रामबहादुर भण्डारी, नेपाली काँग्रेसबाट प्रदेशसभामा समानुपातिकतर्फका उम्मेदवार गोपाल विश्वकर्मा, लगायतका नेता कार्यकर्ताहरु सहभागीता रहेको थियो ।
