देश विकास

विकास पत्रकारिता

विश्वव्यापी तापक्रम वृद्धि र एल निनोको दोहोरो प्रभाव: नेपालमा औसतभन्दा बढी गर्मी हुने प्रक्षेपण, गर्मी कार्य दिवसमा हातेमालोको आव्हान

Share it with you friends

जलवायु परिवर्तनले निम्त्याएको बढ्दो गर्मीको प्रकोप कम गर्न आज विश्वभरी नै “हिट एक्शन डे”  अर्थात् गर्मी कम गर्न गरिने कार्य दिवस मनाइँदैछ। यो दिवसको उद्देश्य जलवायु जोखिमहरूलाई बुझ्न र गर्मीका प्रभावहरूलाई न्यून गर्न सक्रियता बढाउनु हो।

विश्वको औसत तापमान १.५ डिग्री सेल्सियस् वृद्धितर्फ लम्किरहेका बेला, यो वर्ष पनि समुन्द्रको सतहको तापक्रममा आएको परिवर्तनले विकसित हुँदै गरेको एल निनो  को प्रभावले नेपाल लगायत एशियाली देशमा यो वर्षको मनसुनी अवधिमा तापक्रम औसतभन्दा बढी हुने प्रक्षेपण गरिएको छ। तराई क्षेत्रमा प्री मनसुनी गतिविधिमा कमी आउने हुँदा वर्षा कम र गर्मी बढी हुने सम्भावना छ।

जलवायुविज्ञ डा. धर्मराज उप्रेती भन्नुहुन्छ, ‘बढ्दो विश्वव्यापी तापक्रम र एल निनोको प्रभावले नेपाल लगायत एशियाली क्षेत्रका लागि गम्भीर चेतावनी दिएको छ। हामीले विश्वव्यापी प्रतिबद्धतामा मात्रै निर्भर नभई, जोखिममा रहेका लक्षित समुदायका लागि स्थानीयस्तरमा गर्मी कार्ययोजना विकास गर्न जरुरी छ।’ डा. उप्रेतीले थप्नुभयो, ‘तराईको प्री मनसुनी गतिविधिमा हुने कमी र विश्वव्यापी प्रवृत्तिबीचको अन्तरक्रियालाई बुझ्नु गर्मी जोखिम कम गर्न मुख्य कुरा हो।’

यस बढ्दो गर्मीबाट विद्यालय जाने विद्यार्थी, कृषि कार्यमा संलग्न व्यक्तिहरू, जोखिम समूहमा रहने महिला, बालबालिका, मजदुरहरू र ज्येष्ठ नागरिकहरू गम्भीर रूपमा प्रभावित हुन्छन्। स्वास्थ्य समस्याहरू, जस्तै तातो लहर (हिट स्ट्रोक) को जोखिम बढ्छ।

तसर्थ, गर्मीको जोखिम कम गर्न र अनुकूलनका उपायहरू अपनाउन सबै पक्षको हातेमालो आवश्यक छ। स्थानीयस्तरका कार्ययोजनाहरू, पानीको पहुँच, उपयुक्त आवास, र चेतनामूलक कार्यक्रमहरूमा जोड दिनुपर्छ। गर्मीको जोखिम न्यून गर्न सामूहिक प्रयास अनिवार्य छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts