देश विकास

विकास पत्रकारिता

, ,

साँझको चुलो बल्ने आसमा सुत्केरी अञ्जली

Share it with you friends

दिङको गजुरी गाउँपालिका–२, रातमाटे छेपाङकी २१ वर्षीया अञ्जली तामाङ एक साता अघि पहिलो सन्तानकी आमा बनिन्। मातृत्वको खुसीले मन ढकमक्क फुल्नुपर्ने यो समयमा उनको आँखाभरी भने अभाव र अनिश्चित भविष्यको कहालीलाग्दो आँसु मात्र तैरिरहेको छ। सामान्यतया सुत्केरी महिलालाई न्यानो ओछ्यान, पोषिलो आहार, विश्राम र परिवारको भरपुर माया-स्याहार आवश्यक पर्छ। तर, अञ्जलीको निष्पट्ट गरिबीले भरिएको संसारमा यी कुनै पनि कुरा पाउन सकेकी छैनन् ।

उनको नवजात शिशु ओभानो कपडाको अभावमा एउटा पातलो च्यादरमाथि सानो थाङ्नामा खुम्चिएर सुतिरहेको छ। चिसोबाट जोगाउन शिशुका लागि न पर्याप्त कपडा छन्, न त आमाकै लागि ओढ्ने-ओछ्याउने भरपर्दो व्यवस्था। सुत्केरी अवस्थामा शरीरलाई पोषिलो खाना त परको कुरा, बिहान-बेलुकाको छाक कसरी टार्ने भन्ने पिरलोले उनलाई पल-पल पगालिरहेछ।

घरमा अहिले जम्मा दुई माना चामल र थोरै आलु मात्र बाँकी छ। श्रीमान् पूर्णबहादुर तामाङ दैनिक ज्यालादारी मजदुरी गर्न बिहानै निस्कन्छन्। उनी कामबाट फर्किए भने मात्र साँझ चुलो बल्छ, नत्र भोकै सुत्नुको विकल्प रहँदैन। अञ्जली दिनभरि काखको दूधे बालक सुम्सुम्याउँदै ‘श्रीमान् कहिले केही खानेकुरा बोकेर फर्केलान्’ भन्दै आशापूर्णा नजरले बाटो हेरिरहन्छिन्। पोषणभन्दा पनि पेट कसरी भर्ने अनि कुन दिन यो ओत लाग्ने थलो पनि छोडेर हिँड्नुपर्ने हो भन्ने चिन्ताले यी कलिलो उमेरकी आमालाई भित्रभित्रै पोलिरहेको छ।

उनीहरूको आफ्नै भन्नु एक धुर जग्गा-जमिसम्म छैन। माइलो बुबाको छोराले दया गरेर केही समयका लागि बस्न दिएको सानो झुपडीमा उनीहरू आश्रित छन्। पूर्णबहादुरका बुबा र आमा दुवै अपाङ्गता भएका कारण उनीहरूबाट आर्थिक वा शारीरिक सहयोगको कुनै अपेक्षा गर्न सकिने अवस्था छैन। आम्दानीको एउटै मात्र स्रोत श्रीमानको सोही दैनिक ज्यालादारी हो, जुन आफैँमा अनिश्चित छ।

सम्पन्न परिवारमा सुत्केरी हुँदा अस्पतालबाट फर्कने बित्तिकै तातो सुप, मासु, दूध, घ्यू, फलफूल, तेल मालिस र चौबीसै घण्टा हेरचाह गर्ने परिवारका सदस्यहरूको ओइरो लाग्छ। तर, अञ्जलीको यथार्थ भने कसैको आँसु खस्ने खालको छ। न पर्याप्त कपडा, न तातो-पोषिलो खाना, न त आराम। सुत्केरी अवस्थामा आवश्यक पर्ने पोषण र विश्रामको अभावमा आमा र नवजात शिशु दुवैको स्वास्थ्य गम्भीर जोखिममा परेको छ।

सुरक्षित मातृत्वका राज्यस्तरका ठूला गफ र कार्यक्रम सञ्चालन भइरहे पनि अञ्जली जस्ता सीमान्तकृत र विपन्न महिलासम्म त्यो राहतको घाम अझै पुग्न सकेको छैन। यो केवल एउटा परिवारको कथा मात्र होइन, दुर्गमका अनगिन्ती आमाहरूले भोगिरहेको तीतो यथार्थको प्रतिनिधि चित्र हो।

नयाँ जीवनलाई संसारमा ल्याएकी यी कलिली आमा र नवजात शिशुलाई अहिले मानवीय सहयोगको अति नै खाँचो छ। शिशुका लागि न्यानो कपडा, सुत्केरी आमाका लागि पोषिलो खाद्यान्न, ओढ्ने-ओछ्याउने र जीवन धान्ने सानो आर्थिक सहारा मात्रै पाइने हो भने पनि यो परिवारको ओठमा मुस्कान फर्कन सक्थ्यो। पाँच दिनको शिशु काखमा च्यापेर साँझको चुलो बल्ने आसमा बाटो कुरिरहेकी अञ्जलीको यो कारुणिक अवस्थामा तपाईं-हाम्रो सानो सहयोगले ठूलो जीवन बचाउन सक्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts