विश्व दुध दिवस-२०२६” को अवसर पारेर धादिङको सिद्धलेक गाउँपालिकामा एक विशेष कार्यक्रमका बीच १८ जना उत्कृष्ट पशुपालक किसानहरूलाई सम्मान गरिएको छ। सोमबार (जेठ १८ गते) गाउँपालिकाको सभाहलमा आयोजित समारोहमा व्यावसायिक कृषि तथा पशुपालनमा योगदान पुर्याउने किसानहरूलाई पुरस्कृत गरिएको हो।
सिद्धलेक गाउँपालिकाका अध्यक्ष परशुराम खतिवडाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सविता अर्याल र पशु सेवा शाखा प्रमुख डा. चक्र वली लगायतको विशेष आतिथ्य रहेको थियो।
कार्यक्रममा वार्षिक ५ हजार लिटरभन्दा बढी दूध उत्पादन गरी व्यावसायिकताको उदाहरण बनेका ११ जना किसानहरूलाई ‘उत्पादनमा आधारित दुधमा प्रोत्साहन अनुदान कार्यक्रम’ अन्तर्गत सम्मान गरिएको थियो। यसैगरी, पशुपालनका विभिन्न क्षेत्रमा उत्कृष्ट कार्य गर्ने अन्य ७ जना किसानहरूलाई गाईभैँसीपालन, बाख्रापालन, बङ्गुरपालन र कुखुरापालन विधा अन्तर्गत ‘पशुपालक किसान सम्मान कार्यक्रम’ मार्फत सम्मानित गरिएको छ।
पशुपालनलाई थप प्रोत्साहन गर्न र व्यावसायिकता बढाउन गाउँपालिकाले सहकारी माध्यमलाई पनि बलियो बनाएको छ। सोही अवसरमा स्थानीय विभिन्न सहकारीमार्फत दूध बिक्री गर्दै आएका ६ सय २४ जना किसानहरूका लागि सरकारले प्रोत्साहन रकमको घोषणा गरेको छ।
किसानहरूले बिक्री गरेको कुल ४ लाख ५४ हजार १०७ दशमलव १२ लिटर दूधमा प्रतिलिटर २ रुपैयाँ ६० पैसाका दरले हुन आउने प्रोत्साहन रकम सिधै किसानहरूको बैंक खातामा उपलब्ध गराइने गाउँपालिकाले जनाएको छ। बैंकिङ प्रणालीमार्फत पारदर्शी रूपमा वितरण गरिने यो रकमले साना तथा व्यावसायिक दुवै खाले किसानहरूलाई थप ऊर्जा मिल्ने विश्वास लिइएको छ।





