अर्को पुस्ताको नेतृत्वमा विष्णु पौडेलको उदय

Share it with you friends

चिनियाँ कम्युनिस्ट पार्टीमा यसअघिको ‘पिपुल्स कंग्रेस’ सम्म भावी नेतृत्व तयार गर्ने एउटा विधि थियो। पार्टीको सर्वोच्च निकाय ९ सदस्यीय स्ट्यान्डिङ कमिटीमा ५० देखि ६० वर्ष उमेरका दुई जना नेता ल्याइन्थ्यो। ती नेता पाँच वर्ष स्ट्यान्डिङ कमिटीमा बसेर काम गर्थे। त्यसपछि एक जना राष्ट्रपति हुन्थ्यो, अर्को प्रधानमन्त्री।

ती नेताहरु भविष्यका राष्ट्रपति र प्रधानमन्त्री हुन् भनेर पार्टीले घोषणा गर्दैनथ्यो। तर, अर्को पुस्ताका नेता उनीहरु नै हुन् भनेर सबैले बुझ्थे।

सन् २००७ को पिपुल्स कंग्रेसपछि वर्तमान राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री ली ख छ्याङ स्ट्यान्डिङ कमिटीमा चुनिएका थिए। उनीहरुले सन् २०१२ देखि राष्ट्रपति र प्रधानमन्त्रीका रुपमा चीनको नेतृत्व सम्हालेका छन्।

सन् १९९३ मा जियाङ जमिन राष्ट्रपति चुनिएदेखि चिनियाँ कम्युनिस्ट पार्टीमा राष्ट्रपति र प्रधानमन्त्रीले दुई कार्यकाल मात्र काम गर्ने परम्परा बसालिएको थियो। यसपालि राष्ट्रपति सीले त्यो परम्परा तोड्ने अनुमान गरिएको छ।

उनले यसपालि स्ट्यान्डिङ कमिटीमा नयाँ पुस्ताका प्रतिभावान व्यक्तिहरुलाई नेतृत्वमा पुग्ने गरी लगेका छैनन्। सात सदस्यीय स्ट्यान्डिङ कमिटी मात्र बनाएका छन्। एक व्यक्ति दुई पटकसम्म मात्र राष्ट्रपति हुन पाउने प्रावधान पनि संविधानबाट हटाइएको छ।

एमाले र माओवादी मिलेर बिहीबार एकीकृत पार्टी निर्माण गर्दा भने अर्को पुस्ताको नेतृत्व कसको हातमा जान्छ भन्ने प्रस्ट संकेत हुने गरी ‘शीर्ष नौ’ नेता छनौट गरिएका छन्।

एकीकृत कम्युनिस्ट पार्टीले नौ सदस्यीय केन्द्रीय कार्यालय गठन गरेको छ। शीर्ष नौ सदस्यमा प्रधानमन्त्री केपी ओली, पुष्पकमल दाहाल, माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ, ईश्वर पोखरेल, रामबहादुर थापा र विष्णु पौडेल छानिएका छन्।

यीमध्ये पौडेल ‘शीर्ष नौ’ मा मात्र परेका छैनन्, एकीकृत पार्टीको शक्तिशाली महासचिव नियुक्त भएका छन्। यसले भविष्यमा एकीकृत कम्युनिस्ट पार्टीको नेतृत्व कसको हातमा जाला भन्ने प्रस्ट भएको छ। पौडेललाई महासचिव नियुक्त गरेर ओलीले आफ्नो चाहना संस्थागत गरेका छन्।

एमाले पार्टीकै संरचनामा आफूभन्दा माथि रहेका धेरैलाई पछि पार्दै पौडेल एकीकृत कम्युनिस्ट पार्टीको शक्तिशाली महासचिव भएका छन्। उनलाई अर्को पुस्ताको नेताका रुपमा स्थापित गराउन ओलीले एमालेका निवर्तमान महासचिव ईश्वर पोखरेललाई पनि पन्छाएका छन्। उनी एकीकृत पार्टी महासचिवका स्वाभाविक आकांक्षी थिए। उनलाई केन्द्रीय कार्यालय सदस्यमा सीमित गरेर ओलीले पौडेललाई महासचिव बनाएका हुन्। वरियतामा भने पोखरेललाई नै माथि राखेका छन्।

एमालेमा पौडेल उपमहासचिव थिए। उपमहासचिवभन्दा वरियतामा माथि रहेका उपाध्यक्षहरु भीम रावल, अष्टलक्ष्मी शाक्य र संविधान सभाका अध्यक्ष सुवास नेम्बाङ ‘शीर्ष नौ’ मै परेनन्।

एकीकृत पार्टी महाधिवेशनपछि केपी ओली अध्यक्ष रहने छैनन्। त्यतिबेला समझदारी वा चुनावमार्फत् पुष्पकमल दाहाल वा माधव नेपालमध्ये एक जना अध्यक्ष छानिने छन्। उमेरका हिसाबले त्यसपछि हुने महाधिवेशनमा उनीहरु दुवै जना अध्यक्षका प्रत्यासी हुने छैनन्। झलनाथ खनाल र वामदेव गौतम उनीहरुको आगामी भूमिकाभन्दा हिजोको भूमिकाको सम्मानका खातिर ‘शीर्ष नौ’ मा परेका हुन्।

त्यसपछि बाँकी रहे — नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा, ईश्वर पोखरेल र पौडेल।

आउने महाधिवेशनमा दाहाल एकीकृत पार्टी अध्यक्ष बने अर्कै कुरा। त्यसपछि भने लामो समय हिजोको माओवादी भंगालोबाट आएका नेता पार्टी अध्यक्ष बन्ने छैनन्।

पोखरेललाई अहिल्यै उछिनेर पौडेल महासचिव बनिसके। भोलिका दिनमा एकीकृत पार्टी नेतृत्व पोखरेलको हातमा जाने सम्भावना छैन।

यसको कारण छ। पोखरेल ओलीका महासचिव त हुन्, तर उनी एमालेमा कहिल्यै ओलीका उत्तराधिकारी थिएनन्। अघिल्लो महाधिवेशनमै माधव नेपाललाई छाडेर ओली क्याम्पमा गएपछि उनलाई नेपाल क्याम्पको पनि कुनै सहानुभूति छैन। पार्टीको भित्री संगठनमा पनि उनका आफ्नै उल्लेख्य समर्थक छैनन्। त्यसैले उनी भोलि नेतृत्वमा पुग्ने गरी बलिया छैनन्।

आफ्नो राजनीतिक करिअरको उत्तरार्द्धमा ओलीले पौडेललाई महासचिव र अर्को पुस्ताको नेताका रुपमा स्थापित गराउनुको खास कारण छ।

ओलीसँग सबभन्दा नजिक रहेर सबभन्दा लामो समय काम गरेका नेता हुन् पौडेल। २०४४ सालमा १४ वर्ष लामो कारावासबाट ओली मुक्त भए। उनलाई २०४५ सालमा पार्टीले लुम्बिनी अञ्चल इन्चार्ज बनाएर खटायो। त्यो समय पौडेल रुपन्देही जिल्लाको पार्टी सचिव थिए। मुलुकमा पञ्चायती व्यवस्था कायम थियो। नेताहरुको सुरक्षाको विषय संवेदनशील थियो। त्यो संवेदनशील समयमा ओलीको सुरक्षा र बसाइको प्रबन्ध प्रमुख रुपले पौडेलले नै गरे। कति समय उनीहरु दुई जना सँगै बसे।

ओली र पौडेलको आपसी विश्वास र आत्मीयता त्यही बेलादेखिको हो।

त्यो विश्वास पौडेलले सधैं निर्वाह गरे। ओलीलाई सजिलो पर्दा पनि र अप्ठ्यारो पर्दा पनि। मदन भण्डारीको असामयिक निधनपछि एमाले नेतृत्वको बागडोर लामो समय माधव नेपालको हातमा रह्यो। २०५१ सालमा गृहमन्त्री हुँदा र दोस्रो जनआन्दोलनपछि छोटो समय उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री रहँदा बाहेक ओली सत्ताबाहिरै रहे। पार्टीमा पनि नेतृत्वको अवसर पाएनन्।

पहिलो संविधानसभा चुनावमा एमालेको लज्जाजनक हारपछि नेपालले पार्टी महासचिवबाट राजीनामा दिए। झलनाथ खनाल कार्यवाहक महासचिव बने। एमालेले आठौं महाधिवेशनपछि अध्यक्षात्मक प्रणालीमा जाने निर्णय गर्यो। पार्टीका कार्यवाहक महासचिव खनालले वामदेवको सहयोगमा अध्यक्षको उम्मेदवार बन्ने निर्णय गरे।

ओलीले चुनाव जित्न नसक्ने आकलन गर्दै उनी नजिकका केही नेताले उम्मेदवार नबन्न सम्झाए। नेपाललाई नै एकपटक अध्यक्षको उम्मेदवार बनाउनुपर्ने उनीहरुको धारणा थियो। त्यसरी सम्झाउन जानेमध्ये पौडेल पनि एक थिए। सबैको कुरा सुनेपछि ओलीले घडी हेर्दै भने, ‘तपाईंहरुको कुरा सुनेँ। मलाई उम्मेदवारी दिन ढिला भैसक्यो। म गएँ।’

ओलीले उम्मेदवारी दिएपछि पौडेलले दिलोज्यानले उनलाई सघाए। ओली हारे, खनालले जिते। ईश्वर पोखरेल महासचिव चुनिए। तै पनि पौडेलले ओलीको साथ छाडेनन्। पाँच वर्षपछि पार्टीको नवौं महाधिवेशनको समय आयो। ओलीले चुनाव जित्ने रणनीतिका साथ ईश्वर पोखरेललाई आफ्नो महासचिव उम्मेदवार बनाए।

माधव नेपाल समूहले पौडेललाई आफ्नो पक्षबाट महासचिव उम्मेदवार बनाउन सके चुनाव जित्ने आकलन गर्यो। यसको निम्ति नेपालले आफ्नो समूहबाट महासचिवका अर्का सम्भावित उम्मेदवार सुरेन्द्र पाण्डेलाई समेत मनाए।

पौडेल भने मानेन्।

उनले यति लामो समय ओलीलाई पार्टी अध्यक्ष नबनाउनु अन्याय हुने तर्क गरे। बरु ओली समूहबाटै उपमहासचिव पदमा उठ्न उनी राजी भए।

ओली र पोखरेलले झिनो मतले चुनाव जिते। पौडेलले पनि जिते।

त्यतिबेला पौडेल नेपाल समूहमा जोडिएका भए परिणाम अर्कै हुन सक्थ्यो। आज राजनीति अर्कै हुन सक्थ्यो। भोलि इतिहास अर्कै लेखिन सक्थ्यो।

पौडेलको लामो समयदेखिको गुण ओलीले यसपालि तिरेका छन्।

पार्टी एकीकरणमा पौडेलले खेलेको भूमिका पनि महत्वपूर्ण छ। उनी एकीकरणको काममा पनि ओलीका प्रमुख सारथी थिए। एकीकरणमा माओवादी पक्षबाट प्रमुख भूमिका खेल्ने नारायणकाजी श्रेष्ठ र जनार्दन शर्मा थिए भने एमालेबाट वामदेव गौतम र पौडेलले सुरुदेखि काम गरेका थिए।

पौडेलले माओवादीसँग मात्र पुलको काम गरेनन्, पार्टी एकीकरण सफल बनाउन ओलीलाई माधव नेपालको पनि उत्तिकै साथ जरुरी थियो। पौडेलले ओली र नेपालबीच पनि पुलको काम गरे।

पौडेल नम्र बोल्छन्। पार्टीभित्र हत्तपत्त कसैलाई बिझाउँदैनन्। धेरै रणनीतिक पनि छन्। नवौं महाधिवेशनमा नेपालको हारलगत्तै उनलाई भेटेर दसौं महाधिवेशनपछिको ‘अध्यक्ष तपाईं’ भनेर भने। उनले ओलीको स्वास्थ्य आकलन गरेर भने होलान्, वा नवौं महाधिवेशनमा ओली, वामदेव, ईश्वर पोखरेल एकातिर हुँदा पनि नेपालले ल्याएको मत देखेर भने वा आफ्नै भविष्य हेरेर।

नवौं महाधिवेशनलगत्तै उनले नेपालसँग पनि आशा र विश्वासको दुईतर्फी पुल हाले। त्यो पुल यसपालि पार्टी एकीकरणको कठिन घडीमा काम लाग्यो।

उनले माधव नेपालसँग धेरै ‘राउन्ड’ कुरा गरे। एकीकरणलाई लिएर नेपाललाई आश्वस्त पारे। नेपाल यति उत्साही देखिए, त्यसले दाहाललाई नै सशंकित पार्यो। पछिल्लो केही साताको तरंग त्यही शंकाको परिणाम थियो। गएको साता पौडेल फेरि दाहालकहाँ गए। उनीहरुबीच के कुरा भयो थाहा छैन। त्यो भेटले ओली र दाहालबीच फेरी सघन छलफलको वातावरण भने बनायो। एकीकरणलाई निष्कर्षमा पुग्न मद्दत गर्यो।

अोलीसँगको निकटताले मात्र पौडेल अर्को पुस्ताको नेतृत्वका रुपमा उदाएका भने हैनन्।

अरु नेताजस्तै उनका पनि सीमितता र कमजोरी पक्कै छन्। अन्तरमुखी छन् र आफ्नो आलोचना रुचाउँदैनन् भन्ने आरोप छ।

एमाले पार्टीको संगठन निर्माणमा भने उनको लामो र महत्वपूर्ण योगदान छ। पार्टी संगठनमा दिनरात खट्न सक्ने उनको खुबीका कारण मदन भण्डारीले उनलाई २०४८ सालमा ३२ वर्षकै उमेरमा केन्द्रीय सदस्य नियुक्त गरेका थिए। त्यो बेला केन्द्रीय समिति २५ जनाको मात्र हुन्थ्यो।

केन्द्रीय समितिमा नियुक्तिलगत्तै भण्डारीले उनलाई महाकाली अञ्चलमा संगठन निर्माणको काममा खटाए। त्यो समय महाकाली कांग्रेसको गढ थियो।

२०४८ सालको चुनावमा नेपाली कांग्रेसका सभापति कृष्णप्रसाद भट्टराईले शेरबहादुर देउवालाई सुदूर-पश्चिमको चुनाव कमाण्डर बनाएर पठाएका थिए। उनको नेतृत्वमा कांग्रेसले १९ मध्ये १८ सिट जित्यो। दार्चुलामा राप्रपा थापाले एक सिट जितेको थियो। एमालेले भने खाता पनि खोल्न सकेन।

कांग्रेसको ‘किल्ला’ मा संगठन विस्तारको काम गरेर आफ्नो क्षमता देखाएका पौडेलले ३५ वर्षको उमेरमा एमाले संगठन विभागको जिम्मेवारी पाए। यसपालि ५८ वर्ष लागेका पौडेल त्यसपछि अविछिन्न रुपमा पार्टी संगठनको काममा छन्। महासचिव नियुक्त हुँदासम्म पनि उनी पाँच नम्बर प्रदेशका इन्चार्ज हुन्।

भीमकाय एकीकृत कम्युनिस्ट पार्टीको महासचिवका रुपमा आउने दिनमा उनको भूमिकाको थप परख हुनेछ। यो एकीकृत पार्टीको सबैभन्दा ठूलो चुनौती नै संगठनलाई सन्तुलित ढंगले अघि बढाउनु, असन्तुष्टिको उचित व्यवस्थापन गर्नु र पार्टीलाई चलायमान बनाइराख्नु हुनेछ।

त्यो भूमिकासँगै अर्को पुस्ताको नेतृत्वका रुपमा आफूलाई स्थापित गर्ने अवसर उनलाई प्राप्त भएको छ।

अमित ढकाल- सेताेपाटी अनलाइनवाट

  • Related Posts

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    नेपालको पहिलो व्यावसायिक सुरुङमार्ग ‘नागढुंगा-सिस्नेखोला सुरुङमार्ग’ आगामी साउनदेखि सञ्चालन गर्ने गरी तयारी भइरहेको छ । नागढुंगा-सिस्नेखोला सुरुङमार्ग आयोजनाका प्रमुख सौजन्य नेपालका अनुसार आवश्यक तयारी गरेर आगामी साउनको तेस्रो सातासम्म सुरुङमार्ग…

    रास्वपाकाे आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक चल्दै : अरु दलका शीर्ष नेताहरू अनुपस्थित

    सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक बसिरहेको छ । बैठकमा अरु दलका शीर्ष नेताहरू अनुपस्थित भएका छन् । नेपाली कांग्रेसका सभापति गगन थापा, एमाले…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:४३
    • 10 views
    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:३७
    • 9 views
    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२६
    • 11 views
    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    रास्वपाकाे आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक चल्दै : अरु दलका शीर्ष नेताहरू अनुपस्थित

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२२
    • 9 views
    रास्वपाकाे आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक चल्दै : अरु दलका शीर्ष नेताहरू अनुपस्थित

    विश्व वातावरण दिवसमा धादिङका कृषकहरूबीच हाजिरीजवाफ प्रतियोगिता

    • By Upendra Adhikari
    • २४ जेष्ठ २०८३, आईतवार ०७:०६
    • 14 views
    विश्व वातावरण दिवसमा धादिङका कृषकहरूबीच हाजिरीजवाफ प्रतियोगिता

    बालमैत्री स्थानीय शासन अभ्यास अवलोकन गर्न टोखा–१० को टोली गल्छीमा

    • By Upendra Adhikari
    • २४ जेष्ठ २०८३, आईतवार ०७:०१
    • 12 views
    बालमैत्री स्थानीय शासन अभ्यास अवलोकन गर्न टोखा–१० को टोली गल्छीमा