उपत्यकामा अब ६ स्थानबाट प्रहरी रिपोर्ट लिन पाइने (स्थानसहित)
काठमाडौं, ११ वैशाख । नेपाल प्रहरीले चारित्रिक प्रमाणपत्र (पुलिस रिपोर्ट) लिने सेवाको विस्तार गरेको छ ।
विदेश जाने तथा विदेश रहेका नेपालीको हकमा उपत्यकाको चार स्थानबाट प्रदान गर्दै आएको सेवालाई मंगलबारदेखि दुई स्थानमा थप गरी सेवा विस्तार गरेको हो ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता मनोज नेउपानेले उपत्यकाको महानगरीय प्रहरी कार्यालय रानीपोखरी, महानगरीय प्रहरी परिसर भक्तपुर, ललितपुर र महानगरीय प्रहरी वृत्त महाराजगञ्जबाट प्रदान गर्दै आएकामा महानगरीय प्रहरी वृत्त गौशाला र कालीमाटी थप गरिएको जानकारी दिए ।
‘सेवाग्राहीलाई सहजरुपमा सेवा दिनका लागि प्रहरी रिपोर्ट दिने स्थान बढाएका हौं’ उनले भने । यस्तै, प्रहरीले उपत्यका बाहिर १ नम्बर प्रदेश कार्यालय विराटनगर, ३ नम्बर प्रदेश कार्यालय हेटौंडा, ४ नम्बर प्रदेश कार्यालय पोखरा, संघीय प्रहरी इकाइ कार्यालय भेरी र संघीय प्रहरी इकाइ कार्यालय सेतीबाट सेवा दिँदै आएको छ ।
विदेशमा रहने नेपालीले भने नेपाल प्रहरीको policereport@nepalpolice.gov.np मा आवश्यक कागजातसहित आवेदन दर्ता गर्न सकिने व्यवस्था गरिएको छ ।
