कर्णाली प्रदेशको विकास नभएकोमा उपराष्ट्रपतिको चिन्ता

Share it with you friends

काठमाडौँ, २१ चैत । उपराष्ट्रपति नन्दबहादुर पुनले कर्णाली प्रदेश विभिन्न स्रोत तथा साधनमा सम्पन्न भएर पनि विकास तथा समृद्धि कायम हुन नसकेकोमा चिन्ता व्यक्त गर्नुभएको छ ।

जाजरकोट राष्ट्रिय प्रदर्शनी मूल आयोजक समितिले काठमाण्डौमा बुधबार आयोजना गरेको सांस्कृतिक प्रदर्शनीमा उहाँले विभिन्न खनिज पदार्थ, जडीबुटीलगायत प्राकृतिक स्रोतलाई व्यावसायिकरुपमा सदुपयोग गरी उक्त क्षेत्रलाई सम्पन्न बनाउन सकिने बताउनुभयो । मौलिक संस्कृतिले धनी मध्यपश्चिममा रोग, भोक, गरिबीलगायत विभिन्न समस्यासँग स्थानीयवासीले संघर्ष गर्दै विकास र समृद्धिको यात्रामा अगाडि बढ्न चाहेको हुँदा सरकारले उचित वातावरणको व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले मुलुकमा विभिन्न जाति, समुदायका संस्कृति राष्ट्रको गौरव भएको हुँदा त्यसलाई सरकारले संरक्षण गर्ने बताउँदै संस्कृतिको जगेर्नाले जनताको सभ्यतालाई उचाइमा पुर्याउन सकिने बताउनुभयो ।

नेकपा (माओवादी केन्द्र)का नेता तथा पूर्वमन्त्री जनार्दन शर्माले आगामी १० वर्षभित्र कर्णाली प्रदेशलाई मुलुकको सबैभन्दा सम्पन्न प्रदेशका रुपमा विकास गरिने बताउनुभयो । उहाँले भन्नुभयो, “कर्णाली प्रदेश सुनको डल्लो हो, त्यसलाई पगालेर आवश्यकताअनुसार गहना बनाउन सक्छौँ ।” कार्यक्रम आयोजक संस्थाका अध्यक्ष पार्वती थापाले जाजरकोटको संस्कृतिलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा प्रवद्र्धन गर्न उक्त कार्यक्रम आयोजना गरिएको जानकारी गराउनुभयो । सो अवसरमा खाँडो नाच, ख्याली नृत्य, सिंगारु, देउडा, लहरे पैसेरीलगायतका सांस्कृतिक झलक प्रदर्शन गरिएको थियो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *