कलकीं नागढुङ्गा नौविसे सडकखण्ड ठप्प , वैकल्पिक मार्ग कुन हुन सक्छ ?

Share it with you friends

धादिङ ,  १६  असाेज  । के तपाई कलकींवाट नागढुङ्गा , नौविसे हुदै कतै जादैहुनुहुन्छ ? यदि त्यसो हो भने आजदेखी करीव १ साता तपाइले यो सडकवाट यात्रा नगर्दा पनि हुने भएको छ । काठमाण्डौँ प्रबेश गर्ने प्रमुख नाका नागढुङा–पीपलामोड सडक मर्मतका लागि गए राती देखी ९ घण्टाका लागि सवारी आवागमन बन्द गरिएसँगै राजमार्गमा अहिले सवारी साधनको लामो जाम धादिङको सिम्ले वजारसम्म पुगेको छ । सोमबार राती ८ बजे देखी लागु हुने गरि ९ घण्टा सम्म केहि दिनका लागि सवारी साधनको आवतजावत बन्द गरिँदा पहिलो दिन नै सवारी साधनको लाइन लामो भएको छ । ट्राफिक प्रहरी महाशाखा काठमाण्डौँका अनुसार बिहान ५ बजे सम्मका लागि नौबिसे नागढुँगा थानकोट सडकमा सवारी साधन सन्चालनमा रोक लगाईएको हो ।

एकै स्थानमा घन्टौँ बस्नुपर्दा सवारी चालक तथा यात्रुहरु आक्रोशित भएका छन् । चाडपर्वलाई लक्षित गर्दै सडक कालोपत्रे गर्ने काम सुरु गरिएपनि चाडपर्वकै मुखमा आएर कालोपत्रे गर्न सुरु गरिएकाले यात्रुहरुको विचल्ली भएको छ ।

यसअघि केहिदिन अगाडि देखि नै राजमार्गमा लामो जाम हुँदै आएको थियो । सडक डिभिजन कार्यालय काठमाडौं–२ का अनुसार नागढुङा–पीपलामोड सडकमा मर्मतसम्भारको काम सुरु भएकाले राति ८ बजेदेखि बिहान ५ बजेसम्म यात्रु र मालवाहक गाडी बन्द गरिएको हो ।

सडक मर्मत गर्ने भनेर ढिलो सुचना गराउँदा र यातायात व्यवसायी सँग समन्वय नगर्दा घन्टौँ जाममा बस्नुपरेको चालकहरुले गुनासो गरेका छन् । चाडपर्वको मुखैमा यसरी मुख्य राजमार्ग बन्द गरेर मर्मत गर्नुभन्दा वैकल्पिक सडकहरुलाई मर्मत गरेर प्रयोगमा ल्याएको भए सहज हुने सरोकारवालाहरु बताउँछन् ।


यस्तै दिउँसोको समयमा टिपर चलाउन बन्द गरिए सँगै राती सन्चालनमा रहेको टिपरहरु राती पनि चल्न नपाएपछि आफुहरुको आम्दानीको श्रोत नै गुम्ने अवस्था रहेको टिपर व्यवसायी र चालकहरु बताउँछन् ।

गाडी तान्ने मेसिन
महानगरीय ट्राफिक प्रहरी महाशाखाले बिग्रेको गाडी हटाउने दुई वटा याकर अर्थात गाडी तान्ने मेसिन सञ्चालनमा ल्याएको खबर थाहा पाउँदा यात्रुहरु खुसी भएका थिए । गाडी बिग्रेर हुने ट्राफिक जाम हटाउन सडक विभागले काठमाडौंको नागढुंगा र धादिङको झ्याप्ले खोलामा दुई वर्टायाकरको व्यवस्था गरेको जनाएको थियो ।
¥याकर सञ्चालनमा आएपछि गाडी बिग्रेर हुने कलंकी–नागढुङ्गा–धार्केसम्मको जाम तत्काल हट्ने महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी बसन्त पन्तले बताएका थिए तर नागढुङा–पीपलामोड सडक मर्मतका लागि गए राती देखी ९ घण्टाका लागि सवारी आवागमन बन्द गरिएसँगै यात्रुहरुले फेरी सास्ती पाएका छन् ।

वैकल्पिक सडक बारे छलफल
यसअघि नौविसे नागढुँगा सडकको जामलाई कम गर्न बैकल्पिक सडकको निरिक्षण तथा छलफल भएकाे छ । नेपालीहरुको महान पर्व दशैँ अगाडि नै वैकल्पिक सडकको रुपमा रहेको धार्के सितापाईला सडकमा साना सवारी सन्चालन गर्न र नौबिसे नागढुँगा सडकमा सवारी सन्चालनको अहिलेको अवस्थालाई व्यवस्थित गर्ने गरि सडकको निरिक्षण तथा छलफल गरिएको जनाईएको थियो । वैकल्पिक सडक खुलाउन काम भैरहेपनि कच्चि सडक भएकाले धुलो, हिलो, उकालो र खाल्डाखुल्डी भएकाले दिगो रुपमा सवारी चलाउन समस्या देखिन्छ ।

विकल्प के हुन सक्ला ?
जाम छल्नका लागि हलुका सबारीसाधनले धार्के ठुलोखोला कच्ची सडक र धार्के आचार्यपोखरी भञ्ज्याङ्पोखरी सडक पनि प्रयोग गर्न सकिन्छ , तर यी सडकहरु पनि कच्ची सडक भएका कारण त्यती भरपर्दो सडक भने होइनन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *