गल्छि-७ खेस्टेखोलामा माइक्रोबसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु
२४ असोज २०७६, शुक्रबार ।
भगवान भण्डारी,
धादिङको गल्छी गाउँपालिका वडा नम्बर ७, खेस्टेखेलामा माइक्रोबसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको ज्यान गएको छ ।
लमजुङको बेसीशहरबाट काठमाण्डौ तर्फ जाँदै गरेको बा २ ख ७२८४ नम्बरको माइक्रोबसले शुक्रबार बिहान १० बजेतिर त्यसै दिशातर्फ जाँदै गरेको बा ४९ प ३०१५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा उक्त दुर्घटना भएको हो ।
दुर्घटनामा मोटरसाइकलको पछाडि बसेका नुवाकोट जिल्ला विदुर नगरपालिका वडा नम्बर १२ भट्टगाउँका २३ वर्षीय रामकृष्ण भट्टको ज्यान गएको हो । माइक्रोबसको ठक्करबाट गम्भीर घाइते भएका भट्टको उपचारका लागि काठमाण्डौ लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको गल्छि प्रहरी चौकीका हवल्दार चरी ब. तामाङ्गले जानकारी दिनुभयो ।
दुर्घटनामा मोटरसाईकल चालक २३ वर्षीय हरिप्रसाद भट्ट घाइते भएका छन् । घाइतेको काठमाण्डौमा रहेको ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ । ओभरटेक गर्ने क्रममा माइक्रोबसले मोटरसाइकललाई ठक्कर दिएको थियो । दुर्घटनापछि माइक्रोबसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
