चिठ्ठा पर्यो भन्दै ठग्ने तीन जना पक्राउ
काठमाडौं । इन्टरनेट र सामाजिक सञ्जालहरुको लोकप्रियतासँगै यसको गलत तरिकाले प्रयोग गर्दा मानिसहरु ठगिने क्रम बढ्दो छ । नेपालमा भाइबर, इमो, म्यासेन्जर तथा फोनमै पनि पहिले ‘तपाईलाई चिठ्ठा प¥यो’ भन्ने अनि चिठ्ठा रकम माग्दा ‘सो रकमको कर वापतको रकम पहिलै पठाउनु होला’ भन्ने । चिठ्ठा रकमको प्रलोभनमा नेपालीहरु कतिले कर रकम वापतको मोटो रकम दिने गर्नाले उनीहरु ठगिने गरेका छन् ।
रकम प्राप्त गरेपछि सम्पर्क विहीन हुने ठगिहरुको योजना हुने गर्छ । यस्तै फोन र म्यासेज गरेर चिठ्ठा पर्यो भन्दै ठग्ने गिरोहका तीन जना काठमाडौंबाट पक्राउ गरिएको छ ।
पक्राउ पर्नेमा उदयपुरको त्रियुगा–२ घर भइ हाल ललितपुरको सानेपा बस्दै आएका २९ वर्षीय रेवतकुमार खाती, इमालडोल बस्दै आएका ३२ वर्षीय महेशकुमार पाण्डे र २९ वर्षीय रोशन विक रहेका छन् ।
उनीहरुले चिठ्ठामा परेको समान तथा नगद भारतमा रहेको बताउँदै चिठ्ठा वापतको सामान तथा नगद लिन विमा र धरौटी रकम तिर्नु पर्ने भन्दै पीडितसँग रकम माग गरेका थिए ।
महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रहरी उपरीक्षक नरेन्द्रप्रसाद उप्रेतीका अनुसार पीडितले पठाएको रकम उनीहरुले आईएमइमार्फत बुझ्ने नेपालीहरुबाट ठगी गरेको उक्त मोटो रकम भारतमा रहेका मुख्य एजेन्टहरुलाई पठाउने गरेको अनुसन्धानमा खुलेको बताएका छन् ।
योजनामा अन्यको संलग्नता भएको हुनसक्ने बताउँदै थप अनुसन्धान भइरहेको महानगरीय अपराध अनुसन्धान महाशाखाले जनाएको छ ।
