“दिगो विकाशको लक्ष्य,अपाङ्गमैत्री भविष्य” भन्ने मुल नाराका साथ धादिङ्गको धुनिवेशी नगरपालिकामा २८ औं अन्तर्राष्ट्रिय अपाङ्ग दिवस मनाईयो
१७ मंसीर २०७६, मंगलबार ।
भगवान भण्डारी– धार्के, “दिगो विकाशको लक्ष्य, अपाङ्गमैत्री भविष्य” भन्ने मुल नाराका साथ आज २८ औं अन्तर्राष्ट्रिय अपाङ्ग दिवस विश्वभर मनाईदै छ । हरेक सरकार अनि संगठनहरुले अपाङ्गता भएकाहरुलाई प्राथमिकतामा राख्ने अनि समान वातावरण दिने प्रतिवद्धताको साथ यो दिवस हरेक वर्ष विश्वभरि नै डिसेम्बर ३ तारिखका दिन मनाईदै आइएको छ । अपाङ्गता भएका व्यक्तिहरु पनि अरु स्वतन्त्र नागरिकहरु सरह हुन । उनीहरुलाई कुनै पनि सेवा र सुविधा बाट बञ्चित हुन नपरोस भनि सरकारले प्राथमिकतामा राखेको छ साथै आत्मनिर्भरतालाई जोड दिने उद्धेश्यले सरकारले उनीहरुको आवश्यक्तालाई मध्यनजर गर्दै विभिन्न सिपमुलक तालिमको समेत व्यवस्था गर्दै आएको छ । यसैको सम्झनास्वरुप आज नेपालमा पनि विविध कार्यक्रम गर्दै सरकारले २८ औं अन्तर्राष्ट्रिय अपाङ्ग दिवस मनाइएको छ ।

यसैबिच धादिङ्गको धुनिवेशी नगरपालिकामा २८ औं अन्तर्राष्ट्रिय अपाङ्ग दिवस मनाईएको छ । दिगो विकाशको लक्ष्य, अपाङ्गमैत्री भविष्य भन्ने मुल नाराका साथै अपाङ्गतालाई स्वीकार र सम्मान गरौ, मलाई गणना गर, समावेश गर, दिगो विकाशको लक्ष्य कार्यान्वायनमा अपाङ्गता सार्थक नेतृत्व र सहभागिता लेखिएका पम्प्लेट सहित खानीखोला बजारको परिक्रमा गरिएको छ । धुनिवेशी नगर अपाङ्ग समितीको समन्वय र धुनिवेशी नगरपालिकाको आर्थिक सहयोगमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा धुनिवेशी नगरपालिकाका उपप्रमुख निरु खरेल, अपाङ्ग भएका व्यक्तिहरु, विभिन्न संघसंस्थामा आवद्ध व्यक्तिहरु, स्थानिय लगायतको उपस्थिती रहेको थियो ।

त्यस्तै थाक्रे गाउँपालिकाले पनि विभिन्न कार्यक्रमका साथ यो दिवस मनाएको छ । गाउँपालिकाको कार्यालयसम्म आउँन नसक्ने पुर्ण अशक्त अपाङ्गता भएकी थाक्रे गाउँपालिका ६ लुङकिलकी शर्मिला थापालाई घरमै गई अपाङ्गता परिचय पत्र वितरण गरिएको छ ।
