दुर्गमका विद्यालयमा विद्यार्थी भर्ना शून्य
बाजुरा, १३ वैशाख । देशैभरि अहिले विद्यार्थी भर्ना अभियान चलिरहँदा प्रदेश नं ७ अन्तर्गत बाजुरा जिल्लाको स्वामीकार्तिक खापर गाउँपालिकाका अधिकांश विद्यालयमा भने भर्ना संख्या प्रायः शून्य छ ।
विद्यार्थी भर्ना अभियान शून्य हुनेमा स्वामीकार्तिक खापर गाउँपालिका–२ छुद्दरीमा रहेको गंगा आधारभूत विद्यालयमा हालसम्म पनि एक जना विद्यार्थी भर्ना भएका छैनन् ।
गत शैक्षिक सत्रमा ११० विद्यार्थी रहेको उक्त विद्यालयमा एक जना पनि विद्यार्थी भर्ना नहुनुको कारण कुनै पनि शिक्षक विद्यालयमा नहुनु अभिभावकको गुनासो छ ।
गाउँमा विद्यार्थी भर्ना अभियान चलिरहे पनि प्रधानाध्यापक नेत्रप्रसाद ज्ञवाली आफ्नी छोरी भर्ना गराउन काठमाडौँ गएका र अन्य शिक्षक पनि वाार्षिक परीक्षा सञ्चालन गरेदेखि विद्यालयमा हाजिर हुन नआउँदा विद्यार्थीले भर्ना हुन नपाएको अभिभावकले बताएका छन् ।
स्वामीकार्तिक खापर गाउँपालिकाकै पुडेनीमा रहेको पुुगेली आधारभूत विद्यालयमा पनि विद्यार्थी भर्ना संख्या शून्य नै छ । कक्षा दुईसम्म सञ्चालन रहेको उक्त विद्यालयमा एक जना प्रधानाध्यापक नरजंग कार्की र कार्यालय सहयोग सहयोगी शीतल बुढा गरी दुई जना मात्र छन् ।
