नेपाली नयाँ वर्षकाे दिनमात्रै फुल्ने फूल हेर्नेको घुँइचो
लहान, १ बैशाख । प्रत्येक नयाँ बर्षको पहिलो दिन अर्थात वैशाख १ गते मात्रै फुल्ने अनौठो फूल हर्न सिरहामा भीड लाग्यो । सिरहाको लहान नगरपालिकास्थित सलहेस फूलबारीमा शनिबार मेला लागेको हो । वडा नं १२ र २२ मा पर्ने धार्मिक तथा सांस्कृतिक स्थलमा हरेक वर्ष बैसाख १ का दिन मेला लाग्ने गर्छ र त्यही मेलामा पर्यटक तथा दर्शनार्थीहरुको भीड लाग्ने गर्दछ ।
मेलामा नेपालका अतिरिक्त भारतको बिहार, सहरसा, सुपौल, पूर्णिया, पटनासम्मका मानिसहरु आउने गर्दछन्। बैसाख १ मा फूलबारीको मध्य भागमा मालिनीको गहवर (मन्दिर) सँगै रहेको हारमको रुखमा एक दिन मात्र फुल्ने विश्वास गरिएको सुनाखरी फूल हेर्न मानिसको भिड लाग्ने गरेको हो।
लोकनायकको रुपमा पुजिने राजा सलहेस र प्रेमिका मालिनीको प्रेम प्रतीकको रुपमा यो सुनाखरीलाई लिने गरिएको छ।
सलहेस गाथा अनुसार सिरहाको महिसोथामा जन्मिएका लोकनायक सलहेसको फूल टिप्ने ठाउँ र प्रणयस्थल हो– फूलबारीधाम । तेह्रौं शताब्दीका लोकनायक सलहेस र विराट राजाकी छोरी मालिनीबीच प्रगाढ प्रेम सम्बन्ध रहेको तर प्रेम असफल भएपछि सलहेसको प्रतीक्षा गर्दै मालिनी मालाको रुपमा बैसाख १ मा फुल्ने जनविश्वास रहेको सलहेस गहवरका पुजारी हरिसिंहदेव दनुवारले बताए। यसैगरी, राजा सलहेसले आफ्नी रानीको मनोरञ्जनका लागि यो बगैंचा बनाएको पनि किंवदन्ती छ।
६ सय वर्ष अगाडिका राजा सलहेसले नै यो मेला (जात्रा) लगाउने चलन चलाएको मान्यता छ ।
यस भेगमा अहिले पनि कुनै धार्मिक अनुष्ठान गर्दा कलश भर्नको लागि सलहेश फूलबारीको पानी प्रयोग गर्नुको साथै हैजा महामारी आउँदा पनि सलहेश फूलबारीको पानी औषधि मानेर खाएपछि निको हुने गरेको जनविश्वास छ । हारम पाकैर, लावा, सोहरा र विभिन्न जडीबुटी रहेको यस फूलबारीको शीतल जल ग्रहण गरेपछि जस्तोसुकै रिस क्रोध शान्त हुने जनविश्वास छ ।
तराईका दलित समुदायमा पर्ने पासवान जातिका इष्टदेव मानिने सलहेसको पूजा गर्नाले मनोकांक्षा पूरा हुने, सन्तान प्राप्ति, चर्म रोग लगायतका रोगव्याधी नलाग्ने जनविश्वास छ । लहान बजारदेखि करिब ४ किमि दक्षिण पश्चिममा रहेको फूलबारीमा पछिल्लो समय, फूल हेर्नकै लागि मानिसहरुको जमघट बढ्दै जाँदा यसले विस्तारै मेलाको रुप लिएको हो ।
