बढ्यो गर्मी, सुक्यो पानी – छट्पटाउँदै माछा
कञ्चनपुर, १२ वैशाख । शुक्लाफाँटा नगरपालिका– ८ मा पर्ने यस क्षेत्रकै प्रसिद्ध धार्मिक पर्यटकीय क्षेत्र मणिका धाममा रहेको तालका माछा पानी सुक्दा छटपटाउन थालेका छन् ।
बढ्दो गर्मीसँगै तालमा पानीको सतह घट्दै जान थालेपछि संरक्षण गरिएका माछा मर्ने सम्भावना बढेको हो । थोरै पानीमा धेरै माछा रहेकाले आवश्यक आहार र प्रर्याप्त विहार गर्ने ठाउँ नहँुदा माछाको अस्तित्व खतरामा परेको मणिका धाममा बस्दै आएका साधु आनन्द गिरीले बताउनुभयो ।
वर्षातका बेला उत्तरतर्फको पहाडबाट आउने भेलले ताललाई पुर्दै आएकामा बचाउनका लागि चासो नदिँदा यस्तो अवस्था आएको यहाँका बासिन्दा बताउँछन् ।
ताल प्रतिवर्ष दुई मिटर बढीका हिसाबले पुरिँदै जान थालेको छ । पर्यटकीय क्षेत्रमा ल्याइएको धारामा समेत पानी आउने क्रम बन्द भएको छ ।
लाखौं रुपैयाँ खर्चेर बनाइएको खानेपानी आयोजनामा मसिनो पाइप राख्द चुना भरिएर पानी आउने क्रम बन्द भएकाले पर्यटकीय क्षेत्रमा पुग्ने अवलोकनकर्ताले सास्ती खेप्नुपरेको छ ।
