मुख्यमन्त्रीहरुलाई प्रधानमन्त्रीले भने : ‘प्रतिस्पर्धात्मक विकासमा उत्रिनुस्’

Share it with you friends

प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको राम्रो विकास, उन्नति र समृद्धिका लागि प्रदेश सरकारबीच प्रतिस्पर्धा हुनुपर्ने खाँचो बताएका छन् । आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा सातवटै प्रदेशका मुख्यमन्त्रीहरुसँगको बैठकमा उनले यस्तो बताएका हुन् । प्रदेश सरकार र केन्द्रबीच कसरी समन्वय गर्ने र कसरी प्रभावकारी ढंगले अघि बढ्ने भन्ने छलफलको लागि बैठक बोलाईएको हो ।

बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले दिगो विकासका लक्ष्य पूरा गर्न धेरै समय नरहेको भन्दै मात्र बाँकी १३ वर्षको अवधिमा समृद्धिको बाटोमा अघि बढ्नुको विकल्प नरहेको उल्लेख गरे ।

‘स्थानीय, प्रदेश र केन्द्रीय सरकार कसैलाई पनि असफल हुने छैन विभिन्न चरणमा क्रान्ति गरियो अब समृद्धिको बाटोमा अघि बढ्नुको विकल्प छैन,’–प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै उनका प्रेस संयोजक चेतन अधिकारीले सञ्चारकर्मीलाई जानकारी दिए ।प्रदेश सरकारलाई आवश्यक पर्ने कानूनलाई पूर्णता दिन वा समस्या सम्बोधन गर्न महान्यायाधिवक्ताको संयोजनमा बनेको सहजीकरण समितिमार्फत समस्या सुल्झाउन पनि प्रधानमन्त्रीले दिर्नेशन दिएका छन् । फरक प्रसंगमा प्रधानमन्त्री ओलीले नेपालको आन्तरिक मामिलामा कसैलाई पनि हस्तक्षेप गर्न नदिने र सबै छिमेकी मुलुकसँग समान र सौहार्दपूर्ण सम्बन्ध कायम राखिने समेत प्रष्ट पारे ।

बैठकमा मुख्य सचिव, ७ वटै प्रदेशका मुख्यमन्त्री, ७ वटै प्रदेशका सचिव, सातै प्रदेशका मुख्य न्यायधिवक्ता र संघीय सरकारका मन्त्रीहरुको उपस्थिती रहेको छ । आजको बैठक प्रधानमन्त्री ओलीकै आह्वानमा राखिएको हो । यो बैठक लगत्तै संघीय संसद बैठक बस्दैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *