रोल्पाको लुंग्री खोलामा बस खस्यो, २ जनाको मृत्यु

Share it with you friends

१३ असोज २०७६, सोमबार ।

पूर्वी रोल्पाको लुंग्री खोलामा बस खस्दा २ जनाको मृत्यु भएको छ। आशिर्वाद यातायातको ग १ ख ५५७३ नम्बरको बस सोमबार दिउँसो खोलामा खस्दा चालक सहित एक यात्रुको मृत्यु भएको हो।

मृत्यु हुनेमा चालक लुंग्री गाउँपालिका–३ जुतुङखोलाका २२ वर्षे यामबहादुर घर्ती र यात्रु लुंग्री गाउँपालिका–२ सिर्पका १९ वर्षे सूर्यलाल जीएम रहेका छन्। सुनिलस्मृति गाउँपालिका–३ रुइनीबाङ जिपपार्क देखि उत्तर तर्फबाट बस खोलामा खसेको प्रहरीले जनाएको छ। गाडी फर्काउने क्रममा बस सिधै खोलामा खसेको हो।

जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक चित्रबहादुर गुरुङका अनुसार बस २ सय मिटर तल खोलाको बीचमा खसेको छ। घटना लगत्तै सुलिचौर इलाका प्रहरी कार्यालयबाट प्रहरी र स्थानीय खोलामा पुगेर उद्दारमा खटिएका हुन्। दुईजनाको शव निकालिएपनि बसभित्र अरु यात्रु फसिरहेको वा नरहेको केही खुलेको छैन।

खोलाको खोँचमा बस दुर्घटनाग्रस्त अवस्थामा छ। पानीको बहाव धेरै भएकाले उद्दारमा कठिनाई भइरहेको छ। बस फर्काउन जानेक्रममा बसभित्र तीन जना मानिस रहेको अनुमान गरिएको छ। यद्यपी, यसको पुष्टी भने हुन नसकेको प्रहरी नायब उपरीक्षक गुरुङले बताउनुभयो । सिर्पतर्फ यात्रु लिएर जानका लागि जिपपार्क नजिकै गाडी फर्काउन गएका वेला दुर्घटना भएको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *