शरणार्थी शिविरमा हवाई आक्रमण, १४ जनाको मृत्यु
साना, यमन, १९ चैत । आन्तरिक रूपमा विस्तापित यमनी नागरिक बस्दै आएको शिविरमा साउदी अरब नेतृत्वको सेनाले गरेको हवाइ आक्रमणमा परी सोमबार कम्तिमा १४ जनाको मृत्यु भएको यमनी स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीले बताएका छन् ।
यमनको रेड सी बन्दर्गाह शहर होडेइडाह नजिकै रहेको शिविरमा भएको आक्रमणमा केही महिला तथा बालबालिकासहित १४ जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन्, यमनी सुरक्षाकर्मीहरूले बताए ।
घाइतेमध्ये केही गम्भीर रूपमा घाइते रहेका कारण मृतक सङ्ख्यामा वृद्धि हुनसक्ने स्थानीय अधिकारीले बताएका छन् ।
यमनमा अमेरिकी सहयोगप्राप्त साउदी नेतृत्वको गठवन्धन सेनाले तीन बर्ष पहिले युद्ध शुरु गरेको र यो विगत केही समयमा गरिएका श्रृङ्खलावद्ध हवाई आक्रमणमध्येको अन्तिम आक्रमण हो ।
गत हप्ता पनि गठबन्धन सेनाले यमनको उत्तरी प्रान्त सादामा रहेको एउटा प्रसिद्ध व्यापारिक केन्द्रलाई लक्षित गरी हवाई आक्रमण गरेको थियो ।
गत मार्च ८ गते पनि होडेइडाहको व्यस्त बजारमा आक्रमण गर्दा कम्तिमा ८ जनाको मृत्यु भएको स्थानीय अधिकारी तथा प्रत्यक्षदर्शीले जनाए ।
गठबन्धनले द्वन्द्वग्रस्त यमनमा सन् २०१५ को मार्चदेखि इरानी सहयोग प्राप्त सिया हुथी विद्रोहीका गतिविधि हस्तक्षेप गर्दै अन्तर्राष्ट्रिय रूपमा मान्यताप्राप्त यमनी राष्ट्रपति अब्द्राव्वुह मन्सुर हाडीलाई सहयोग गर्दै आएको छ ।
यमनमा सन् २०१५ पछि द्वन्द्वमा परी कम्तिमा १० हजार यमनीको मृत्यु भएको छ भने मृतकमध्ये अधिकांश सर्वसाधारण रहेका संयुक्त राष्ट्रसंघको तथ्याङ्क छ । द्वन्द्वका कारण तीन करिब ३० लाख यमनी नागरिक आन्तरिक तथा बाह्यरूपमा विस्थापित भएका छन् ।
रासस
