धादिङ — अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा थाक्रे गाउँपालिकाका अध्यक्षले युवाहरूलाई रचनात्मक क्षमता अभिवृद्धि गर्दै देश निर्माणमा जुट्न आह्वान गर्नुभएको छ। दिवसका अवसरमा शुभकामना सन्देश व्यक्त गर्दै उहाँले युवाहरू परिवर्तनका मुख्य संवाहक भएकाले स्थानीय, प्रदेश र संघ सरकारका योजना तथा बजेटको अनुगमन र पारदर्शी कार्यान्वयनमा सक्रिय सहभागिता जनाउनुपर्नेमा जोड दिनुभयो।
अध्यक्षका अनुसार ‘समृद्ध नेपाल, सुखी नेपाली’ र ‘समृद्ध थाक्रे, सुखी थाक्रेवासी’ को साझा लक्ष्य हासिल गर्न युवाहरूको रचनात्मक सुझाव र सहयोग अपरिहार्य छ। उहाँले १६ देखि ४० वर्ष उमेर समूहका युवाहरूले आफ्नो करियर निर्माणसँगै देशको उज्ज्वल भविष्य कोर्न महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताउनुभयो। नकारात्मक विषयमा मात्रै केन्द्रित नभई सकारात्मक सोचका साथ स्वस्थ आलोचना र वस्तुनिष्ठ समीक्षा गरेर अघि बढ्न उहाँले आग्रह गर्नुभयो।
आफ्नो बाल्यकाल र जीवन सङ्घर्षको अनुभव बाँध्दै अध्यक्षले कठिन परिस्थितिमा अध्ययन पूरा गरेको, भारी बोकेको, खेतीपाती गरेको र मिल चलाएको स्मरण गर्नुभयो। २२ वर्षको उमेरदेखि सामाजिक तथा राजनीतिक अभियानमा होमिएर नेतृत्व तहसम्म पुगेको प्रसङ्ग उल्लेख गर्दै उहाँले सफलताका लागि किताबी ज्ञान र व्यावहारिक अनुभवको समन्वय हुनुपर्ने स्पष्ट पार्नुभयो।
“किताबी ज्ञानले मात्र समृद्धि सम्भव हुँदैन, पढेका कुरालाई व्यवहारमा उतार्न सक्नुपर्छ,” उहाँले भन्नुभयो, “अप्ठेरो पर्दा श्रम गर्न पनि तयार हुने र मञ्चमा बसेर आफ्ना विचार प्रस्तुत गर्न सक्ने बहुआयामिक क्षमता युवाहरूमा हुनुपर्छ।”
युवा अवस्था स्थायी नहुने भएकाले आवेग र उत्तेजनामा नआई तथ्यपरक ढङ्गले अघि बढ्न उहाँले सुझाउनुभयो। अग्रजहरूले बलिदानीपूर्ण सङ्घर्षबाट प्राप्त गरेका उपलब्धिलाई सही सदुपयोग गर्दै, पुर्खाहरूको योगदानको उच्च मूल्याङ्कन र सम्मानपूर्वक भाषा तथा व्यवहार प्रयोग गर्न अध्यक्षले सम्पूर्ण युवा वर्गलाई हार्दिक अपिल गर्नुभएको छ।





Leave a Reply