सामुदायिक विद्यालयलाई लक्षित गर्दै प्रदेश ३ सरकारले बस किन्दै
२६ श्रावण, २०७६, धादिङ्ग–
विद्यालय टाढा भएकै कारण समस्या भोग्दै आएका विद्यार्थी लक्षित गरी प्रदेश ३ सरकारले बस खरिद गर्ने भएको छ । प्रदेश अन्तर्गतका विभिन्न जिल्लामा रहेका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि दस वटा विद्यालयका लागि बस खरिद गर्न लागेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
‘एक विद्यालय एक नर्स’को अवधारण ल्याएर सफल भएको मन्त्रालयले दोस्रो चरणमा विद्यालय जाँदा घन्टौं हिँड्नुपर्ने बाध्यतामा रहेका विद्यार्थीका लागि बस सुविधा उपलब्ध गराउन लागेको हो । मन्त्रालयले चालू आर्थिक वर्षमा प्रदेशका १० वटा सामुदायिक विद्यालयलाई बस उपलब्ध गराउने सामाजिक विकासमन्त्री युवराज दुलालले जानकारी दिनुभयो ।
‘अहिले पनि सामुदायिक विद्यालयमा अध्ययन गर्न आउने विद्यार्थी घन्टौं हिँडेर आउनुपर्ने बाध्यतामा छन् । उनीहरूलाई सहज रूपमा विद्यालयको पहुँच पु¥याउन बस खरिद गर्न लागेका हौं,’ मन्त्री दुलालले भने, ‘यसलाई हामी अघिल्ला वर्षमा पनि निरन्तरता दिन्छौं । यो वर्ष दस सामुदायिक विद्यालयलाई उपलब्ध गराउने मन्त्रालयको लक्ष्य छ ।’
विद्यार्थी कम र शिक्षक बढी भएका विद्यालय ‘मर्ज’ गर्दा विद्यार्थीलाई टाढाबाट आउनुपर्ने बाध्यता झनै बढेको मन्त्रालयले जनाएको छ । सडक पहुँच भएका विद्यालयलाई प्राथमिकता दिएर बस उपलब्ध गराइने मन्त्री दुलाले जनाए । यसले विद्यार्थीले विद्यालय जाँदा कष्ट बेर्होनु नपर्ने र समय पढाइमा ध्यान जाने उनको भनाइ छ । सामुदायिक विद्यालयमा बस उपलब्ध गराउनका लागि चालू आर्थिक वर्षमा २ करोड ५० लाख रुपैयाँ बजेट छुट्याइएको छ । यो रकमबाट मन्त्रालयले बस खरिद गरेर प्राथमिकताका आधारमा कार्य्विधि बनाएर बस उपलब्ध गराउने जनाइएको छ ।
