स्थानीय तहलाई डेंगी नियन्त्रणका लागि सतर्कता अपनाउन जनस्वास्थ्य कार्यालय धादिङको आग्रह
धादिङ जनस्वास्थ्य कार्यालय धादिङले डेंगी संक्रमणको जोखिमलाई मध्यनजर गर्दै स्थानीय तहहरूलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।
कार्यालयले हालका वर्षहरूमा देखिएको डेंगी संक्रमणको अवस्थालाई ध्यानमा राख्दै घर वरिपरिको वातावरण सफा राख्न, पानी जम्न नदिन, खुला ठाउँमा रहेका भाँडाकुँडाहरू व्यवस्थापन गर्न र लामखुट्टेको प्रजनन नियन्त्रणका उपायहरू अपनाउन आग्रह गरेको हो ।
साथै, झुलको प्रयोग गर्न, पूरा बाहुला भएका कपडा लगाउन र लामखुट्टेको टोकाइबाट जोगिने उपायहरू अवलम्बन गर्न पनि सुझाव दिइएको छ । लामखुट्टेको लार्भा खोजी तथा नष्ट गर्ने अभियान सञ्चालन गर्न समेत स्थानीय तहहरूलाई अनुरोध गरिएको छ ।
जनस्वास्थ्य कार्यालयले स्थानीय तहहरूलाई स्वास्थ्य आकस्मिक योजना (Health Contingency Plan) अद्यावधिक गरी आवश्यक जनशक्ति, परीक्षण किट र औषधि तयारी अवस्थामा राख्न आग्रह गरेको छ ।
यस्तै, सम्भावित महामारी तथा विपद्जन्य घटनाहरू देखिएमा तत्काल जानकारी गराउन पनि आग्रह गरिएको छ।
