२८ औं अन्तर्राष्ट्रिय अपाङ्ग दिवसको अवसरमा गल्छि गाउँपालिकामा सरोकारवाला र अपाङ्गता भएका व्यक्तिहरु बिच अन्र्तक्रिया कार्यक्रम सम्पन्न
१७ मंसीर २०७६, मंगलबार ।
भगवान भण्डारी, २८ औं अन्तर्राष्ट्रिय अपाङ्ग दिवसको अवसरमा आज गल्छि गाउँपालिकामा सरोकारवाला र अपाङ्गता भएका व्यक्तित्वहरु बिच अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । “दिगो विकाशको लक्ष्य, अपाङ्गमैत्री भविष्य” भन्ने मुल नारा सहित गल्छि गाउँपालिका वडा नं. ४ छाँगेश्वर मन्दिरमा अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको हो । गल्छि गाउँपालिकाको आयोजना र गुप्तेश्वरी अपाङ्गता संघको समन्वयमा सम्पन्न अन्र्तक्रिया कार्यक्रममा अपाङ्गता समन्वय संघ एवम् गल्छि गाउँपालिकाका उपाध्यक्ष राधा तिमल्सिनाको अध्यक्षता र गल्छि गाउँपालिकाका प्रमुख कृष्णहरी श्रेष्ठको प्रमुख आथित्यता रहेको थियो ।
कार्यक्रममा शारीरिक अपाङ्गता भएका व्यक्तिहरुलाई आवश्यक सहयोगी सामाग्रीहरु समेत वितरण गरिएको छ । जसअन्तर्गत सेतो छडी १ जनालाई, वैशाखी ७ जनालाई र सामान्य लौरो ११ जनालाई वितरण गरिएको छ ।
कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष कृष्णहरि श्रेष्ठले शारीरिक अपाङ्गता भएका व्यक्तिहरुलाई गाउँपालिकाले अन्य सरह समान व्यवहार गरी सम्मान गर्ने बताउनुभयो । आगामी दिनहरुमा अझै गाउँपालिकाभित्र रहेका शारीरिक अपाङ्गता भएका व्यक्तिहरुको एकिन तथ्याङ्क निकाली उनीहरुको ईच्छा र आवश्यकतालाई मध्यनजर गर्दै सिपमुलक तालिम प्रदान गरी आत्मनिर्भर बनाउने उद्धेश्य रहेको बताउनुभयो । त्यस्तै गत साल वडा नं. १,२ र ६ मा बाख्रा वितरण गरिएको थियो।
