आज नयाँ वर्ष २०७५, यस्तो छ नेपाली नयाँ वर्षको इतिहास

Share it with you friends

काठमाडौँ, १ वैशाख । आज विक्रम संवत् दुई हजार पचहत्तर (२०७५) साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन नेपालभर एकआपसमा शुभकामना आदानप्रदान गरी मनाइँदैछ ।

सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग शुरु गर्ने दिन आज वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति तथा वर्षको पहिलो दिन पनि हो ।

आज हरेक व्यक्तिले गत वर्ष गरेका कामको सफलता/असफलता मूल्याङ्कन गरी असफलता दोहोरिन नदिने र सफलता पाउन नयाँ योजनाको सङ्कल्प गर्दछन् ।

यस अवसरमा आज बिहानै स्नान गर्ने, घर–आँगन सफा गर्ने, देवदेवीको दर्शन गर्न मन्दिर जाने, मीठोमीठो खाने, साथीसङ्गाती तथा इष्टमित्रसँग भेटघाट गरी एक आपसमा शुभकामना साटासाट गर्ने गरिन्छ ।

नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य एवम् इतिहासकार प्रा डा दीनेशराज पन्त मल्लकालदेखि नेपालमा मौलिक संवतका रुपमा विसं चलेको बताउँछन् । ‘नेपालमा मात्र मौलिक रुपमा यो संवत् चल्छ, भारतमा सरकारी संवत शक संवत भए पनि व्यहारमा इस्वी संवत चलेको छ,’ उनले भने ।

नेपालमा विसं १३५ देखि शक संवत, विसं ६३३ देखि मानदेव संवत, विसं ९३६ देखि नेपाल संवत चलेको जानकारीसमेत उनले दिए । यी संवतमध्ये अहिले मानदेव संवतको चलन हराइसकेको छ ।

विक्रमको १२ औँ शताब्दीमा गुजरातबाट आएका विद्वानले किताब सार्दा पहिलोपटक विसंको प्रयोग गरेको लिखित दस्तावेज फेला परेको पनि इतिहासकार पन्तले सुनाए । विक्रम संवत्लाई पहिले ‘कृत’, ‘मालव’, ‘मालव गर’ आदि नामले पनि चिनिन्थ्यो ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतम विसं शास्त्रीय संवत भएको बताउँछन् । ‘सौरमान र चान्द्रमान दुवैलाई समन्वय गरेर बनाइएको संवत नै विसं हो, विक्रमको अर्थ पराक्रम र आदित्यको अर्थ सूर्य हुन्छ, सूर्यका उपासकले चलाएकाले नै यसलाई विक्रम संवत भनिएको हो,’ उनले भने ।

राजा विक्रमादित्यले चलाएको संवत् भएकाले यो संवत्लाई विक्रम संवत् भनिएको तर्क पनि एकथरीले गर्ने गरेका छन् । यस अवसरमा आज नेपालभरका सरकारी कार्यालय, सार्वजनिक संस्थान एवम् शिक्षण संस्थामा सार्वजनिक बिदा दिइएको छ ।

यस वर्षको संवत्सरको नाम ‘बिरोधकृत’ हो । संवत्सरको फल अनुसार यो वर्ष मध्यम रहेको समितिले जनाएको छ । यस वर्ष वर्षा समेत कम हुने समितिले स्वीकृत गरेका पञ्चाङ्ग (पात्रो) मा उल्लेख छ ।

यस वर्ष जेठ महिनामा मल मास परेको छ । मलमासमा नित्य रुपमा गरिने पूजा पाठ गर्छन् । नैमित्तिक अर्थात् अकस्मात् परी आउने बालक जन्मँदा नामकरण, मानिस मर्दा क्रिया कर्म आदि गर्न शास्त्रीय रुपमा अवरोध नहुने अध्यक्ष गौतमले सुनाए । कुनै कामनाले गरिने काम्य कर्म भने मलमासमा गर्नुहुँदैन ।

विश्व ब्रह्माण्ड सञ्चालन गर्ने ग्रह परिषद् अनुसार यस वर्ष राजा सूर्य, प्रधानमन्त्री शनि र सेनापति मंगल रहेका छन् । राजा र प्रधानमन्त्रीको पदमा रहेका ग्रहबीच वैमनस्यता रहेकाले यसको प्रभाव राज्यमा पनि पर्छ । राजा सूर्य भएकाले ताप बढ्ने एवम् कम पानी पर्ने पात्रोमा उल्लेख गरिएको छ ।

विशाखा नक्षत्रमा पूर्णिमा भएको महिनालाई वैशाख, ज्येष्ठा नक्षत्रमा पूर्णिमा परेको महिनालाई जेठ, पूर्वाषाढामा पूर्णिमा भएको महिनालाई असार, श्रवण नक्षत्रमा पूर्णिमा भएको महिनालाई साउन, पूर्वभाद्रपदा नक्षत्रमा पूर्णिमा भएको महिनालाई भदौ, अश्विनी नक्षत्रमा पूर्णिमा भएको महिनालाई असोज, कृतिका नक्षत्रमा पूर्णिमा भएको महिनालाई कात्तिक, मृगशिरा नक्षत्रमा पूर्णिमा भएको महिनालाई मङ्सिर, तिष्य नक्षत्रमा पूर्णिमा भएको महिनालाई पुस नामकरण गरिएको समिति अध्यक्ष गौतमले उल्लेख गरे ।

यसैगरी मघा नक्षत्रमा पूर्णिमा भएको महिनालाई माघ, पूर्व फाल्गुनी नक्षत्रमा पूर्णिमा भएको महिनालाई फागुन र चित्रा नक्षत्रमा पूर्णिमा भएको महिनालाई चैत नामकरण गरिएको हो ।

नयाँ वर्षका अवसरमा काठमाडौँको उत्तरी भेगस्थित बूढानीलकण्ठ र गोकर्णेश्वर नगरपालिकाको सीमामा रहेको वाग्द्वार (वागमती नदीको उद्गमस्थल) मा विशेष स्नान मेला लाग्छ । यसैगरी टोखा चण्डेश्वरीको सपनतीर्थ र कीर्तिपुरस्थित चम्पादेवीमा पनि मेला लाग्ने गरेको छ ।

काठमाडौँको उत्तर पश्चिमी भेगस्थित टोखाको खहरे अर्थात् सपन तीर्थमा आजका दिन स्नान गरेमा कुष्ठ रोग एवम् लुलो लङ्गडोपना हटी पुनः शारीरिक तन्दुरुस्तता प्राप्त हुने जन विश्वास छ ।

सूर्य मीन राशिबाट मेष राशिमा प्रवेश गर्ने वैशाख सङ्क्रान्तिका दिन मनाइने नयाँ वर्षमा स्नान, दान, गरेमा पाप पखालिई पुण्य कमाइने धार्मिक विश्वास रहेको छ ।

नयाँ वर्षकै अवसरमा भक्तपुरमा एक साता लामो बिस्केट जात्रा मनाइन्छ । यो जात्रा वैशाख १ गते नै उत्कर्षमा पुग्छ । बिस्केट जात्रा देशका अन्य भागमा पनि मनाउने चलन छ । उपत्यकामा साँखु र टोखामा समेत बिस्केट जात्रा मनाइन्छ । यस बाहेकका जिल्लामा चैत मसान्तका दिन लिङ्गो ठड्याई वैशाख १ गते ढलाउने गरिन्छ ।

पछिल्ला केही वर्षदेखि नव वर्ष शुरु हुने दिन अर्थात् वैशाख १ गते पशुपतिनाथ मन्दिरमा भीड लाग्न थालेपछि दर्शन एवम् पूजा आजा गर्नेका लागि विशेष व्यवस्था गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । रासस

  • Related Posts

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    काठमाडौँ । वाणिज्य बैंकहरूले असार महिनाका लागि सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार अधिकांश बैंकले निक्षेपको ब्याजदर स्थिर राखेका छन् भने पाँच बैंकले मुद्दती निक्षेपको ब्याजदर घटाएका छन्। बैंकहरूले प्रत्येक महिनाको…

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    नेपालको पहिलो व्यावसायिक सुरुङमार्ग ‘नागढुंगा-सिस्नेखोला सुरुङमार्ग’ आगामी साउनदेखि सञ्चालन गर्ने गरी तयारी भइरहेको छ । नागढुंगा-सिस्नेखोला सुरुङमार्ग आयोजनाका प्रमुख सौजन्य नेपालका अनुसार आवश्यक तयारी गरेर आगामी साउनको तेस्रो सातासम्म सुरुङमार्ग…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १२:३२
    • 11 views
    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३७
    • 11 views
    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३२
    • 11 views
    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:४३
    • 20 views
    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:३७
    • 21 views
    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२६
    • 21 views
    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते