कांग्रेसका नेताहरूले गरे सभापति र वर्तमान सरकारको चर्काे आलोचना

Share it with you friends

काठमाडौं, २९ जेठ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल तथा अर्का नेता कृष्णप्रसाद सिटौला समूहका नेताले एउटै मञ्चमा उभिएर सभापति शेरबहादुर देउवा र सरकारको चर्काे आलोचना गरेका छन् ।

नेपाल विद्यार्थी संघ काठमाडौं समितिले आयोजना गरेको अन्तर्क्रियामा दुई समूहका नेताहरुले सभापति देउवा र वर्तमान सरकारको खुब आलोचना गरे । आसन्न कांग्रेस जिल्ला सभापतिहरुको राष्ट्रिय भेलामा ‘देउवा इतरका समूहको बल देखाउन’ दुईपक्षीय नेताहरु एकै स्थानमा देखिएका हुन् ।

कार्यक्रममा कांग्रेसका पहिलो पुस्ता र युवा नेताले वर्तमान सरकार र पार्टी सभापति देउवाको आलोचनामा गरेका थिए । अन्तर्क्रियामा वरिष्ठ नेता पौडेलले सबै एकताबद्ध हुनका लागि पार्टीमा न्याय, निष्पक्षता र पारदर्शिता आवश्यक हुने भए पनि त्यस्तो नदेखिएको टिप्पणी गरे । पार्टीभित्रको कुरा गर्दा सभापति देउवाका कारण नेपाली कांग्रेस एक हुन नसकेको टिप्पणी गरे ।

पौडेलले वर्तमान सरकारले सामाजिक फासीवादको अभ्यास गरिरहेको आरोप लगाए । दुई तिहाइभन्दा बढी मतसहितको सरकार बनाउने प्रपञ्च तानाशाही तानाबाना भएको उनले बताए । पौडेलभन्दा अगाडि बोलेका पूर्वमहामन्त्री प्रकाशमान सिंहले पार्टी संस्थागत हुन नसकेको बताए । पार्टीको अवस्था लथालिंग हुनुमा उनले सभापति देउवालाई दोष दिए ।

उनले संघीय संरचनामा गएको देशमा कांग्रेस भने केन्द्रीकृत संरचना अनुसार नै सञ्चालित भएको भन्दै सभापतिको आलोचना गरे । अर्का पूर्वमहामन्त्री कृष्ण सिटौलाले पार्टीमा सामन्तवादी सोच हावी भएकाले चाकडीवाजको परम्परा बढ्दै गएको बताए । उनले सरकारको नीति कार्यक्रम र बजेटबारे संसदमा कांग्रेस सांसदहरुको प्रस्तुति फितलो रहेको टिप्पणी गरे ।

त्यस्तै नेता अर्जुननरसिंह केसी पनि सभापति देउवाप्रति खनिएका थिए । केसीले पार्टीमा परिश्रमभन्दा परिक्रमा गर्ने परम्परा मौलाएको बताए । साथै, उनले बजेटप्रति आपत्ति जनाउँदै नेता केसीले कालो धनलाई सेतो धन बनाउन कर छुटको नीति सरकारले ल्याएको आरोप लगाए ।

युवा नेता गगन थापाले विगतका तीता–मीठा इतिहास बिर्सेर आज देखिएको नेताहरुको एकत्व भाव कायम राख्न सुझाव दिए । १३औं महाधिवेशनमा दुई धारको नेतृत्व गरेर महाधिवेसनमा भिडे पनि त्यसलाई बिर्सेर एकजुट हुन दुवै पक्षका नेतालाई आह्वान गरे ।

कांग्रेसका जिल्ला सभापतिहरुको राष्ट्रिय सम्मेलन असार ५ देखि ७ गतेसम्म प्रदेश ३ को राजधानी हेटौंडामा हुँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *