२०७६ बैशाख २६, बिहीबार । काभ्रेपलाञ्चोक जिल्लाको चौँरीदेउराली गाउँपालिकाले आफ्नो क्षेत्रमा व्यावसायिक रूपमा खेती गराउन कृषकका खेतबारीको माटोे परीक्षण शिविर शुरु गरेको छ । गाउँपालिकाले केन्द्रीय कृषि प्रयोगशाला ललितपुरको सहयोगमा दोलालघाटमा तीनदिने माटो परीक्षण शिविर शुरु गरेको हो ।
माटो परीक्षणको रिपोर्ट अनुसार कृषकलाई मलको प्रयोग, मौसम अनुकूलका बाली तथा बाली लगाउने विधि जानकारी गराउने उद्देश्यले कृषकको जमीनको माटो परीक्षण शुरु गरिएको गाउँपालिकाका अध्यक्ष दीननाथ गौतमले बताउनुभयो । सबै वडाको विभिन्न स्थानबाट नमूनाका रुपमा १५० कृषकको माटो परीक्षण गरिने अध्यक्ष गौतमले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “व्यावसायिक रूपमा तरकारी खेती गर्न चाहने कृषकलाई माटो परीक्षणले ठूलो सहयोग पुग्नेछ, त्यसमा हामी पनि सहयोग गर्नेछौँ ।” उहाँका अनुसार माटो परीक्षणका फाइदाबारे गाउँपालिकाले सबै वडावासीलाई जानकारी गराएपछि नमूनाका रूपमा माटो परीक्षण गर्न पठाएका छन् । यसअघि भुम्लु गाउँपालिकाले आफ्नो क्षेत्रका कृषकको खेतबारीको माटोको परीक्षण गराएको थियो । उक्त गाउँपालिकाले काभ्रेपलाञ्चोक जिल्लामा पहिलोपटक एक हप्ताको अवधिमा आफ्नो १० वडाका कृषकको नमूनाका रूपमा माटो परीक्षण गरेको थियो ।
प्राप्त रिपोर्टअनुसार मौसमअनुसार व्यावसायिक कृषि गराउन कृषकसँग छलफल भइरहेको गाउँपालिका अध्यक्ष गुमानध्वज कुँवर ले बताएका छन् । उहाँले कृषकको जीविकोपार्जनमा सहयोग तथा कृषि पेशाबाटै आत्मनिर्भर बन्न हौसला दिलाउने उद्देश्यले हाल गाउँपालिका–१ रिठ्ठेका कृषकलाई नेपाल कृषि अनुसन्धान परिषद् को सहयोगमा उन्नत जातको गहुँको बीउ वितरण गरिएको जानकारी दिनुभयाे ।






