कोहलपुरमा अनिश्चितकालिन कर्फ्यू , घाइते छात्रालाई हेलिकप्टरबाट काठमाडौँ ल्याइदै
२२ मंसिर २०७६, आईतबार ।
ट्रकले बालिकालाई ठक्कर दिएर गम्भीर घाइते बनाएपछि तनावग्रस्त कोहलपुरमा स्थानीय प्रशासनले कर्फ्यू लगाएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णकान्त उपाध्यायले स्थिति नियन्त्रणमा लिन अनिश्चितकालिन कर्फ्यू आदेश जारी गरेको बताउनुभयो ।

कोहलपुर केन्द्र बनाएर उत्तरतर्फ नौबस्ता, दक्षिणतर्फ बपिपरीचोक, पश्चिमतर्फ किरण खोला र पूर्वतर्फ रोहीनी खोलासम्म लागु हुनेगरी कर्फ्यू लगाइएको उहाँले बताउनुभयो । अहिले प्रहरीले कर्फ्यूबारे माइकिङ गरिरहेको छ । कोहलपुर–नेपालगञ्ज सडकखण्ड अन्तर्गत हाइस्कुल चोकमा ट्रकको ठक्करबाट त्रिभुवन उच्च माध्यामिक विद्यालयमा कक्षा ७ मा अध्ययनरत कोहलपुर १० की प्रकृति चन्द गम्भीर घाइते भएकी हुन ।

ट्रकको ठक्करले विद्यार्थीलाई घाइते बनाएपछि आन्दोलनले उग्ररुप लिएको हो । भीडलाई नियन्त्रण गर्ने क्रममा प्रहरीले गोली चलाएपछि केही घाइते भएका छन् । प्रदर्शनकारीको ढुंगा र प्रहरीको गोली लागेर दुवैतर्फका २४ जना घाइते भएका छन् । घाईते चन्दलाई उपचारका लागि काठमाडौँ पठाउने तयारी भइरहेको छ । आक्रोशित विद्यार्थीले ठक्कर दिने ट्रक जलाएका छन् ।
